
काठमाण्डु ८ वैशाख – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गठन गरेको छायाँ सरकारका गृहमन्त्री दिलेन्द्र बडूले प्रहरी समायोजनमा निजामती कर्मचारीको समायोजनको सुत्र लागू गर्न सुझाव दिएका छन् ।
‘प्रहरी समायोजन ऐन २०७५’ माथि प्रतिनिधि सभामा बुधवार भएको सैद्धान्तिक छलफलमा भाग लिँदै कांग्रेस सांसद बडूले प्रदेशमा जाने प्रहरीलाई ग्रेड बढुवाभन्दा एक तह बढुवा गर्दा प्रहरीमा मनोबल बढ्ने बताएका हुन् ।
‘भर्खरै निजामती कर्मचारीको समायोजन गर्दा एक तह बढुवा गरेका छौं । प्रहरीको दुई ग्रेड थप्ने भन्दा एकतह बढुवा दिँदा धेरै ठूलो आर्थिक व्ययभार देखिँदैन,’ बडूले भने ।
कांग्रेसकी मीना पाण्डेले पनि एक तह बढुवा गर्नु उपयुक्त हुने बताइन् ।
छलफलमा भाग लिँदै सांसदहरूले प्रहरी समायोजन विधेयकमा संशोधन जरुरी रहेको बताएका छन् । गृहमन्त्री रामबहादुर थापाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।