करारबाट कर्मचारी नियुक्त गर्ने सरकारको तयारी

काठमाण्डु टुडे २०७६ जेठ ७ गते १६:४७ मा प्रकाशित

काठमाण्डु, ७ जेठ – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले काम नगर्ने कर्मचारीलाई कडा कार्वाही गर्ने चेतावनी दिएका छन् । मन्त्री पण्डितले सबै कर्मचारीलाई उत्साहका साथ काम गर्ने वातावरण बनाउन सरकार लागि परेको दावी पनि गरे ।

मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि समितिका सदस्यले उठाएका विभिन्न प्रश्नको जवाफ दिने क्रममा उनले तत्काल करारमा रहेका कर्मचारीलाई हटाउने व्यवस्था नरहेको पनि स्पष्ट पारे ।

उनले तत्कालका लागि खुला प्रणाली र करार दुवैबाट राष्ट्रिय आवश्यकताको आधारमा कर्मचारी नियुक्त गर्ने कानुनी व्यवस्था गर्न लागिएको पनि बताए ।

मन्त्री पण्डितले कर्मचारीको मनोबल गिराउने काम सरकारबाट नहुने प्रतिवद्धता पनि दोहोर्‍याए । जिम्मेवारीअनुसार कामै नगर्ने कर्मचारीलाई सरकारले कडा कार्वाही गर्ने मन्त्री पण्डितको भनाई छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us