पाँचथर हत्याकाण्डः संदिग्ध मानिएका ज्वाइँले नै गरे आत्महत्या

काठमाण्डु टुडे २०७६ जेठ ७ गते १४:२१ मा प्रकाशित

काठमाण्डु, ७ जेठ – प्रमुख जिल्ला अधिकारीले पाँचथरको मिक्लेजुङ गाउँपालिकामा पर्ने आरुबोटे गाउँमा भएको सामूहिक हत्याको अनुसन्धान कार्य सुरु भइसकेको पाँचथरका बताएका छन् ।

प्रजिअ मुरारि वस्तीका अनुसार मिक्लाजुङ गाउँपालिकाको आरुबोटे गाउँमा धनराज शेर्माको घरमा पाँच जना र बमबहादुर फ्याकको घरमा चार जनाको सामूहिक हत्या भएको पाइएपछि त्यहाँ खटिएको प्रहरी टोलीले घटनाबारे मुचुल्का तयार पार्ने काम गरिरहेको छ ।

घटनास्थलबाट भाग्न सफल एक बालिका प्रहरीको आश्रयमा छिन् ।

पाँचथर राजधानी काठमाण्डूबाट झन्डै ६०० किलोमिटर पूर्वमा पर्दछ। आरुबोटे गाउँ पाँचथर(इलाम सीमाक्षेत्रबाट पश्चिमतिर अवस्थित छ ।

अनुसन्धानको लागि प्रदेश १ का अन्य नगरबाट पनि प्रहरी टोली पाँचथर खटिएको उनले बताए।

उनले भने, ‘घटनाबारे बिहान ५ः३० बजेतिर खबर पाएलगत्तै प्रहरी टोली खटिएका छन् । भारतसँगको सीमा जोडिएको क्षेत्रमा घटना भएकोले चारैतिर सुरक्षा व्यवस्था कडा बनाइएको छ ।’

उनका अनुसार घटनास्थलबाट भाग्न सफल एक बालिकाले प्रहरीलाई बताएअनुसार हत्यामा संलग्न व्यक्तिले कपडाले अनुहार छोपेका थिए ।

मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमका अनुसार घटनास्थलमा प्रहरी टोलीहरूले आफ्नो काम गरिरहेका छन् ।

उनले भने, ‘प्रहरी अनुसन्धान टोली एउटा घटनास्थलबाट अर्को घटनास्थलमा जाने काम भइरहेको छ ।’

प्रमुख जिल्ला अधिकारीले भने, ‘हत्यामा संलग्न भएको आशङ्का गरिएका व्यक्ति गाउँनजिकै एउटा रूखमा झुन्डिएको अवस्थामा फेला परेका छन् ।’

माखिम र वस्तीका अनुसार पाँचथरमा अहिलेसम्म यस्तो खालको विभत्स सामूहिक हत्या नभएकोले जिल्लावासीहरू स्तब्ध भएका छन् ।

उनले भने, ‘एक पछि अर्को घटना भइरहेकोले घटना रहस्यमय भएको छ ।’

घटनामाथि घटना थपिएकोले प्रहरी टोलीहरू अनुसन्धानका लागि अहिले तीनतिर छरिएको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us