
काठमाण्डु, ६ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मध्यपहाडी लोकमार्गमा बिछ्याउन लागिएको अप्टिकल फाइबर योजनाको शिलान्यास गर्दैछन् । नेपाल टेकिलममार्फत अघि बढेको यो योजनाअनुसार मध्यपहाडी लोकमार्गबाट जिल्ला सदरमुकामहरुलाई पनि सूचनाको राजमार्गमा जोडिनेछ ।
प्रदेश १, २ र ३ को मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर तथा उच्च क्षमतायुक्त उपकरण बिस्तारका लागि काम अघि बढ्न लागेको हो ।
पाचँथरको चियो भञ्ज्याङदेखि गोरखा–धादिङको आरुघाटसम्म २ हजार १ सय ७९ किलोमिटर अप्टिकल फाइवर नेटवर्क बिस्तार गर्न लागिएको हो । यही योजनाअनुसार सिन्धुलीको खुर्कोट र धनकुटाको हिलेमा पनि अप्टिकल फाइबर बिछ्याउन सुरुआत गरिँदैछ ।
मध्यपहाडी लोकमार्गको ८ सय ४ किलोमिटर र तथा मार्गबाट विभिन्न स्थान लिंक गर्न १ हजार पाँच सय ७२ किलोमिटरमा काम गर्नुपर्ने हुन्छ ।
टेलिकमले ९६ कोर क्षमताको अप्टिकल फाइबर बिछ्याउने छ भने सदरमुकाम जोड्न अप्टिकल ४८ कोर र नगरपालिकाहरु जोड्न २४ कोरका फाइबार प्रयोग हुनेछन् ।
अप्टिकल फाइबर बिछ्याउन नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषबाट बजेट उपलब्ध गराउनेछ । प्राधिरकण र नेपाल टेलिकमबीच २०७३ असोज १२ गते नै सम्झौता भएको थियो । झण्डै अढाई वर्ष ढिला गरेर काम अघि बढ्न लागेको हो ।
यसअन्तर्गत पूर्वको पाँचथर जिल्लाको चियो भञ्ज्याङदेखि पश्चिमको गोर्खा र धादिङको सिमाना आरुघाटसम्म अप्टिकल फाइबर बिच्छ्याउनका लागि टेलिकम र प्राधिकरणबीच सम्झौता भएको थियो ।
टेलिकमले यो योजनाका लागि पाँचओटा कम्पनी छानेर सम्झौता गरेको छ । कोरियाको एलएस केबुल्सले प्रदेश १ को पाँच सय ९६ किलोमिटरमा काम गर्नेछ । नेपालको अरोग्य कन्स्ट्रक्सनसहित चिनियाँ कम्पनीको जेभीले प्रदेश २ को एक हजार २८ किलोमिटरको जिम्मा पाएको छ ।
हङकङको सीसीएसआई चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसनलले प्रदेश ३ को ५ सय ५५ किलोमिटरमा फाइबर बिछ्याउनेछ ।
हङकङको सीसीएसआई सिंगापुरको सीटीएस कम्युनिकेसनले उपकारणहरु आपूर्तिको जिम्मा पाएका छन् ।