
काठमाण्डु, ३ जेठ– सरकारले इन्धनको मूल्य घटाएको छ । नेपाल आयल निगमले शुक्रबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।
पेट्रोलमा प्रतिलिटर दुई तथा डिेजले र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाइएको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । उनका अनुसार हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।
इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचीअनुसार इन्धनको मूल्य समायोजन भएको हो । अन्तर्राष्ट्रिय मूल्यमा आउने उतारचढावसँगै स्वचालित मूल्य प्रणालीअनुसार मूल्यमा घटबढ हुने गरेको छ । नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य १ सय ८ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलको मूल्य ९७ रुपैयाँ कायम भएको छ ।