नेतृत्वलाई विद्यार्थी नेताकाे चेतावनी: कार्यकर्ताको हुर्मत लिने काम नगरियोस्

काठमाण्डु टुडे २०७६ जेठ ३ गते १२:०२ मा प्रकाशित

काठमाण्डु, ३ जेठ – जनवर्गीय संगठनको नेतृत्व टुंगो लगाएसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा असन्तुष्टि देखिएको छ ।

आफूलाई विद्यार्थी संयोजकको जिम्मेवारी नदिएकामा तत्कालीन माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ असन्तुष्ट बनिरहेका बेला अनेरास्ववीयूकै अन्य विद्यार्थी नेताहरुले पनि असन्तुष्टी जनाएका छन् । तत्कालीन अनेरास्ववियू क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले यसरी जिम्मेवारी तोकिनुलाई विधि विपरित भनेर टिप्पणी गरेका छन् ।

बस्नेतले फेसबुकमा लेखेका छन्, ‘एकापट्टीको निर्वाचित अध्यक्षलाई अर्कापट्टीको अध्यक्ष मुनि मात्र हैन, उपाध्यक्ष मुनिसमेत पनि हैन, महासचिवभन्दा मुनि राखेर विधि भनिन्छ भने त्यो अरुअरु कुरा होला, कमसेकम विधि चाहिँ हैन ।’

अनेरास्ववियू क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्लले पनि आफ्ना असन्तुष्टि फेसबुकमार्फत नै सार्वजनिक गरेका छन् । उनले नेतृत्वलाई सुझाव भन्दै लेखेका छन्, ‘पाइलापिच्छे फरक मापदण्ड निर्माण गरेर कार्यकर्ताको हुर्मत लिने काम नगरियोस् । विश्वासको धरातल कमजोर भयो भने अहंकारको पर्खाल गर्ल्याम गुर्लुम ढल्न कुनै आइतबार कुर्नु पर्दैन ।’

नेकपा सचिवालयले बिहीबार विद्यार्थी संगठनको संयोजक ऐन महर र तामाङलाई सहसंयोजक तोकेको थियो । महर तत्कालीन एमाले सम्बद्ध अनेरास्ववियुका महासचिव थिए हुन् भने एमाले सम्बद्ध अनेरास्ववियुकी अध्यक्ष नविना लामा हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा महरलाई संयोजक तोकिएपछि तामाङ राजीनामा दिने मूडमा पुगेका छन् ।

यसलाई लिएर अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष रश्मी आचार्यले असन्तुष्टि जनाएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘अध्यक्ष नहुने भए उपाध्यक्षलाई बनाउनुपर्नेमा अनेरास्ववियूमा एकैचोटी महासचिवमा पो झरेको भन्ने सुनियो । अध्यक्षपछि रोल नं. २ उपाध्यक्षको हो भन्ने कुरा स्वयंसिद्ध होइन र ?’

अनेरास्ववियु अध्यक्ष नविना लामा समानुपातिक कोटाबाट सांसद बनेपछि आचार्य कार्यवाहक अध्यक्षको जिम्मेवारीमा थिए । उनले एकतापछि विद्यार्थीको नेतृत्वमा दावी गर्दै आएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us