
काठमाण्डु, २ जेठ – सरकारले ल्याएको मिडिया काउन्सिल सम्बन्धी विधेयक लगायत पत्रकार तथा सर्वसाधारण नागरिकहरुको गैरन्यायिक गिरफ्तारी र धरपकड बढदै गएको भन्दै ५ वटा पत्रकार संगठनले राष्ट्रिय मानवअधिकार आयोगलाई ध्यानाकर्षण गराएका छन् ।
उनीहरुले बुधबार आयोगको कार्यलय पुगेर कार्यवाहक अध्यक्ष प्रकाश वस्ती लगाएतका पदाधिकारीलाई गिरफ्तारीप्रति ध्यानाकर्षण गराएका हुन् ।
जनपत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रे, प्रगतिशील पत्रकार संघका अध्यक्ष नारायण शर्मा, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष ईन्द्र रावत,जनपत्रकार संगठनका महासचिव हिम विष्ट, प्रेस सोसाइटी र मधेसी पत्रकार समाजका पदाधिकारीहरु आयोग पुगेका हुन् ।
पत्रकारहरुले प्रेस विरोधी विधेयक तत्काल खारेज नगरे अन्तर्रा्िष्ट्रय मिडिया मिसन र संयुक्त राष्ट्रसंघलाईसमेत गुहार्ने चेतावनी दिइरहेका वेला संगठनका पदाधिकारी आयोग पुगेर गम्भीर हुन अनुरोध गरेका हुन् ।
पत्रकारहरुका कुरा सुन्दै आयोगका कार्यवाहक अध्यक्ष वस्तीले अहिले संसदमा प्रस्तुत गरिएको विद्येयक पारित भए नेपाली प्रेसको स्वतन्त्रता संकटमा पर्ने भन्दै आफुहरु त्यसबारे गम्भीर रहेको जनाए ।
‘यो विधेयक संसदबाट पास भएर कानून बन्यो भने नेपालमा प्रेस स्वतन्त्रता बाँकी रहँदैन’ वस्तिले भने । वस्तिले गैरन्यायिक गिरफ्तारीप्रति आयोग गम्भीर बनेको बताएका थिए ।