कुलमानको अर्को सफलता, भारतलाई दिने २५ लाख जोगाए

काठमाण्डु टुडे २०७६ जेठ १ गते १४:४५ मा प्रकाशित

दार्चुला, १ जेठ – दार्चुलाको सदरमुकाम खलंगामा पहिलोपटक नेपालको आफ्नै बिजुली पुगेको छ । नेपाल विद्युत प्राधिकरणले बलाँच–खलंगा ३३ केभी प्रसारण लाइनको निर्माण सम्पन्न गरी यो लाइन बुधबारबाट सञ्चालनमा ल्याएको हो । यससँगै अब खलंगा नेपालकै विद्युत् प्रणालीमा समेटिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दार्चुलाको जिल्ला सदरमुकाममा राष्ट्रिय ग्रिड पुर्‍याइ आफ्नो उत्पादनबाटै विद्युत आपूर्ति सुरु गर्नुु ठूलो उपलब्धि भएको बताए ।

‘अहिले त्यहाँ भारतको उत्तराखण्डबाट विद्युत आयात गरी आपूर्ति गरिरहेका थियौं, अब हाम्रै राष्ट्रिय ग्रिड पुगेपछि त्यस क्षेत्रमा आपूर्तिका लागि भारतबाट विद्युत् ल्याउनु पर्दैन, त्यस क्षेत्रमा निर्माण भएका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् आपूर्ति गर्छौँ जसबाट भोल्टेजमा सुधार भई उपभोक्ताले विश्वसनीय र गुणस्तरिय विद्युत् प्रयोग गर्न पाउने छन्’ उनले भने, ‘आवश्यक परेको वेला खलंगाबाट भारततर्फ विद्युत् पठाउने पूर्वाधार पनि तयार भएको छ ।’

प्राधिकरणले खलंगामा विद्युत आपूर्तिका लागि उत्तराखण्डको लाली, जोलजीवी र हुटी विन्दुबाट ११ केभी लाइनमार्फत विद्युत् आयात गरिरहेको थियो । प्राधिकरणले विद्युत् आयात गरेवापत उत्तराखण्ड पावर कर्पोरेसन लिमिटेडलाई मासिक रुपमा करिब २५ लाख रुपैयाँ भुक्तानी गर्दै आएको थियो । खलंगा क्षेत्रमा करिब ८ हजार ग्राहक छन् ।

बलाँच–खलंगा ३३ केभी प्रसारण लाइनअन्तर्गतको दार्जुलाको थालीगाडमा निर्माणाधीन ३३/११ केभी सबस्टेसनको काम असारभित्र सकिने प्राधिकरणका अत्तरिया क्षेत्रीय कार्यालयका प्रमुख सतिश कर्णले जानकारी दिनुभयो । ‘अहिले बलाँच–खलंगा लाइन ३३ केभीकै बनेता पनि सब स्टेसनको काम केही बाँकी रहेकाले ११ केभीमा मात्रै चार्च गरेका छौँ’ उनले भने, ‘असारभित्रमा सबस्टेसनको निर्माण सकिन्छ त्यसपछि लाइन पनि ३३ केभीमै चार्च गरी खलंगा क्षेत्रमा विद्युत् आपूर्ति गर्ने छौं ।’

नेपाल सरकार र प्राधिकरणको लगानीमा निर्माण भएको हो । बलाँच–खलंगा ३३ केभी प्रसारण लाइन निर्माण गर्न ८७ लाख ५० हजार रुपैयाँमा २०७२ को चैतमा ठेक्का सम्झौता गरिएको थियो । प्रसारण लाइनको लम्बाई २५ किलोमिटर छ । वन क्षेत्रको जग्गा प्रयोग, स्थानीयको अवरोध, जटिल भूबनोट, विकट क्षेत्र लगायतले गर्दा निर्माणमा केही ढिलाइ भएको कर्णले बताए । सबस्टेसन निर्माणका लागि ६ करोड ८९ लाख रुपैयाँमा २०७३ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो ।

प्राधिकरणले ३० मेगावाटको चमेलिया जलविद्युत केन्द्रबाट र बलाँच सब स्टेसनमा जोडिने निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत खलंगातर्फ पठाउने छ । चमेलिया जलविद्युत आयोजनाले निर्माण गरेको बलाँच सबस्टेसनमा ८.५ मेगावाटको अपी, ८५ मेगावाटको माथिल्लो चमेलिया, १६ मेगावाटको मध्य चमेलिया, ६५ मेगावाटको कलंगा गाड, २५ मेगावाटको छत्तिगाड आयोजना जोडिने छन् । त्यहाँ जोडिएको विद्युत चमेलियाले नै बनाएको १३१ किलोमिटर बलाँच–अत्तरिया (कैलाली) प्रसारण लाइनमार्फत राष्ट्रिय ग्रिडमा प्रवाह हुने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us