उपेन्द्र यादवको अन्तर्वार्तापछि पत्रकार पाण्डेलाई ज्यान मार्ने धम्की

काठमाण्डु टुडे २०७६ वैशाख ३१ गते १५:१८ मा प्रकाशित

काठमाण्डु, ३१ वैशाख – अन्तर्वार्ताको विषयलाई लिएर पत्रकारलाई दिइएको ज्यान मार्ने धम्की तथा कार्यालय तोडफोडको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै आइतबार एभिन्यूज टेलिभिजनमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पत्रकार सुशील पाण्डेद्वारा लिइएको अन्तर्वार्तालाई लिएर ज्यान मार्ने धम्कीका साथै एभिन्यूजनको वीरगञ्ज कार्यालयमा भएको तोडफोडको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

‘एभिन्यूज टेलिभिजनमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पत्रकार सुशील पाण्डेद्वारा लिइएको अन्तर्वार्तालाई लिएर पत्रकार पाण्डेलाई विष्णुजंग बस्नेत नामका व्यक्तिले ९८५१००५१८० नम्बरको मोबाइलबाट फोन गरी ज्यान मार्ने धम्की दिएका थिए भने सोही विषयलाई लिएर समाजवादी पार्टी नेपालका कार्यकर्ताहरूले एभिन्यूज टेलिभिजनको वीरगञ्ज कार्यालयमा आक्रमण र तोडफोड गरेका थिए’, महासंघका महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

समाचारको विषयलाई लिएर पत्रकारलाई ज्यान मार्ने धम्की दिनु र सञ्चारगृह तोडफोड गरिनु प्रेस स्वतन्त्रताविरोधी कार्य भएको भन्दै महासंघले प्रेस विरोधी यस्ता कार्यको कडा शब्दमा भर्त्सना गरेको जनाएको छ । दुवै घटनामा संलग्नमाथि तत्काल कानुनी कारबाही गर्न र पत्रकार र सञ्चारगृहको सुरक्षामा गम्भीर बन्न सम्बन्धित निकायसँग महासंघले माग गरेको छ । साथै महासंघले सञ्चारकर्मीहरूलाई पनि समाचार सामग्री संप्रेषण गर्दा आचारसंहिताको पालना गर्न र मर्यादित रहन आग्रह गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us