कम्बोडियामा के गर्दैछन् प्रधानमन्त्री ?

काठमाण्डु टुडे २०७६ वैशाख ३१ गते ११:५१ मा प्रकाशित

कम्बोडिया, ३१ वैशाख – कम्बोडिया भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज (मंगलबार) दिनभर महत्वपूर्ण भेटवार्ता र कार्यक्रममा व्यस्त हुने भएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले नेपाल र कम्बोडियाबीच व्यापार सम्भावनाबारे आज हुने महत्वपूर्ण कार्यक्रमलाई सम्बोधन गर्नेछन् । त्यस क्रममा प्रधानमन्त्री ओलीले नेपालमा लगानी आह्वान गर्ने परराष्ट्रले जनाएको छ ।

यस्तै आज प्रधानमन्त्री ओलीले कम्बोडियाको तल्लो सदनका सभामुख र माथिल्लो सदनका अध्यक्षसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिएका छन् ।

भियतनाम भ्रमण पूरा गरेर प्रधानमन्त्री ओली सोमबार कम्बोडिया पुगेका हुन् । सोमबारै उनले कम्बोडियाका समकक्षी हुन सेनसँग भेटवार्ता गरेका छन् । त्यस क्रममा दुई मुलुकका चेम्बर अफ कमर्सबीच ९ बुँदे सहमति भएको छ ।

कम्बोडिया भ्रमण पूरा गरेर प्रधानमन्त्री ओली नेतृत्वको टोली बुधबार साँझ काठमाडौं फर्कने कार्यक्रम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us