काठमाण्डु, २९ वैशाख –म्युजिक भिडियोदेखि फिल्मसम्म एकै समय करियर शुरु गरेका दुई नेपाली अभिनेत्री वर्षा राउत र वर्षा सिवाकोटीको सम्बन्ध चिसिएको चर्चा छ ।
गत वर्ष सार्वजनिक ‘गोपी’मा अनुबन्धित सिवाकोटीले फिल्म छोडेपछि राउतले उनले छोडेको भूमिका सम्हालिन् । त्यसपछि झन् उनीहरुको सम्बन्ध बारे गसिपले मिडियामा राम्रै ठाउँ पायो ।
पुनः एकपटक गसिपको श्रृङ्खला चुलियो जब यी दुई अभिनित फिल्महरु ‘जात्रै जात्रा’ र ‘वीर बिक्रम २’ एकसाथ रिलिज हुने भयो ।
तिनै हेडलाइनलाई व्यङ्ग्य गर्दै वर्षा सिवाकोटीले लखेकी छन्, ‘तर, म भन्छु, जेठ ३ गते हाम्रो भिडन्त होइन । मिलन हुनेछ हल हलमा । हामीसँगै लाग्दैछौँ । एकै फ्रेममा नदेखिए पनि उही पर्दामा पालैपालो देखिनेछौँ ।’
उनले वर्षालाई सम्बोधन गर्दै आश्चर्य भाव व्यक्त गरेकी छिन् ।
लेखेकी छिन्,‘हामी दुश्मन अरे । हामीले एक अर्काको अस्तित्व स्वीकार गर्न सकेनौँ अरे । हामी प्रतिस्पर्धी पक्कै हौँला, एकै क्षेत्रमा काम गरिरहेका छौँ । त्यसलाई अस्विकार न तिमीले गर्न सक्छौ न मैले ।’
सिवाकोटीले एउटै ओछ्यानमा सुतेपछि खुट्टा लाग्नुलाई स्वाभाविक भएको उल्लेख गेर्दै दुईबीचको सम्बन्ध मिडियामा आएजस्तो नकारात्मक नभएको प्रष्ट पारेकी हुन् ।
वर्षा राउतले पनि प्रतिक्रियामा लेखेकी छिन्,’हामीले थाहै नपाइ दुश्मनको बिल्ला भिराएछन् । तर, महत्वपूर्ण कुरा त हामीले एकअर्कालाई कसरी लिन्छौं भन्ने हो ।’
मिडियामा आएका नकारात्मक टिप्पणीको खण्डन गर्दै दुबैले एकअर्कालाई रिलिज तयारीमा रहेका फिल्मका लागि शुभकामना दिएका छन् ।
