
काठमाण्डु, २७ वैशाख – राजधानीको खानेपानीमा कोलिफर्म फेला परेको छ । केही दिनअघि ताहाचलका ४५ वर्षीय एक पुरुषमा हैजाको जीवाणु देखिएपछि स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ती व्यक्तिले प्रयोग गर्ने गरेको खानेपानीको नमुना संकलन गरेर परीक्षण गरेको थियो ।
परीक्षण गर्दा दिसामा पाइने जिवाणु कोलिफर्म भेटिएको महाशाखाले पुष्टि गरेको छ । ४५ वर्षीया ती बिरामीको घरका विभिन्न तीनवटा स्रोतको पानी संकलन गरी परीक्षण गरिएको थियो । ती व्यक्तिले प्रगोग गर्दै आएको खानेपानीमा हैजाको जीवाणु भने नपाइएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाखाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘काठमाण्डु महानगरपालिका–१३, हैजा संक्रमित बिरामीको घरबाट ल्याइएका तीनवटै स्रोतका पानीको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुको परीक्षण नतिजामा तीनवटै स्रोतका पानीमा प्रशस्त मात्रामा कोलिफर्म भेटिएको र पानीमा हैजाको जीवाणु नभेटिएको पाइएको छ ।’
खानेपानीको पाइपमा ढल मिसिएर काठमाण्डुवासीले खाँदै आएको पानीमा कोलिफर्म भेटिएको हुनसक्ने महाशाखाको अनुमान छ । भिब्रियो कलेरा नामक जीवाणुले हैजा बनाउने भए पनि हाल उपत्यकामा देखिएको हैजा कोलिफर्म नामक जिवाणुले भएको पुष्टि भएको हो ।