२३ गते पक्राउ परेका विप्लवका भतिजा रिहा

काठमाण्डु टुडे २०७६ वैशाख २६ गते १७:०४ मा प्रकाशित

बुटवल, २६ वैशाख – कपिलवस्तुको शिवराज नगरपालिका– ९ का यादव चन्द रिहा भएका छन् । चन्दलाई रिहा गर्न उच्च अदालत तुलसीपुर बुटवल इजलासले बन्दीप्रत्यक्षीकरण रिट जारी गरेको थियो ।

यादव चन्दको हकमा यादवकी श्रीमती सरस्वती चन्दले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा बुधबार सुनुवाई गर्दै अदालतले बन्दीप्रत्यक्षीकरण रिट जारी गरेको हो ।

बुधबार रिटउपर सुनुवाई गर्दै उच्च अदालतका वरिष्ठ न्यायाधीश कुमार पोखरेल र न्यायाधीश वामदेव ज्ञवालीको इजलासले यादवलाई रिहा गर्न आदेश दिएको हो ।

रिटमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, जिल्ला प्रहरी कार्यालय कपिलवस्तु, वडा प्रहरी तौलिहवालाई विपक्षी बनाइएको थियो ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका भतिजासमेत रहेका यादवलाई प्रहरी यही बैशाख २३ गते रुपन्देहीको मणिग्रामस्थित यातायात कार्यालयमा आएको बेला पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा हिरासतमा राखेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us