अरुका लागि केही गरेर मर्नु नै महानता होः राजेश हमाल

काठमाण्डु टुडे २०७६ वैशाख २६ गते ११:२२ मा प्रकाशित

बाजुराु, २६ वैशाख – नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले युवालाई समृद्धिको प्रमुख आधारशीला भएको बताएका छन् । बाल स्याहार गृहको उद्घाटनका लागि बुधबार बाजुराको ब्रह्मतोला आएका कलाकार हमालले युवाको ऊर्जा देशको विकासमा खर्चिनुपर्ने बताए ।

हमालले कान्छो अभियानकर्मी केपी खनालले अनाथ बालबालिकाका लागि निर्माण गरेको बाल स्याहार गृहप्रति लक्षित गर्दै उनी सबैको प्रेरणाको स्रोत भएको बताए ।

बहुसंख्यक युवामा प्रतिभा भए पनि अवसर नपाएर शक्ति खेर गएको उनको भनाइ थियो । उनका अनुसार अवसरको कमी छ, राज्यले त्यसको प्रत्याभूति दिन सके युवाशक्तिलाई समृद्धिका लागि प्रयोग गर्न सकिन्छ । ‘जीवन आफ्ना लागि सबैले बाँच्न सक्छन्, तर अरुका लागि केही गरेर मर्नु नै महानता हो’, हमालले भने ।

पूर्वमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाले अनाथको अभिभावक हुने सौभाग्य प्राप्त गर्ने परोपकारी व्यक्तित्व समाजका ‘आइडल’ भएको बताए ।

अभियानकर्मी खनालले साझा हित र परोपकारी कार्य राजनीतिक आस्था र स्वार्थभन्दा माथि राखेर गर्न आग्रह गरे । क्लिन काष्ठमाण्डप अभियानका खनालले बाजुराजस्तो दुर्गम क्षेत्रमा आएर अनाथका लागि आश्रम बनाउन पाउँदा निकै खुशी लागेको बताए खनालले ग्रिनसिटी अस्पतालका अध्यक्ष एवं समाज सेवी लोकबहादुर टण्डन र कलाकार राजेश हमालको साथकै कारण अनाथ आश्रम बनाउन सफल भएको बताए ।

बाल स्याहारगृह अघिल्लो वर्षको वैशाख २५ गते शिलान्यास गरिएको थियो भने उद्घाटन पनि सोही दिन गरिएको हो। भवन रु ५० लाख बढी लागतमा निर्माण गरिएको हो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us