
एजेन्सी । मुसलमान धर्म विरोधी प्रतिक्रिया जनाएको आरोपमा बर्षौ जेल जीवन विताएकी पाकिस्तानकी आसिया बीबीले अन्ततः देश छाडेकी छन् ।
क्रिश्चियन धर्म अंगालेकी आसिया बीबीकी वकिल सैफ उल मलूकले बीबीसीसँग उनी १२ घन्टा अगाडि क्यानडा पुगेका बताए । गत नोभेम्बरमा मात्र उनलाई मृत्युदण्ड दिइने भनिएको सजाय त्यहाँको सर्वोच्च अदालतले खारेज गरेको थियो ।
मुश्लिम धर्म विरोधी प्रतिक्रिया दिएको आरोप लागेकी बीबीमाथि आक्रमण हुने आशंकामा त्यहाँको जासुसी संस्थाले उनलाई आफ्नो सुरक्षामा राखेको थियो ।
जब उनीमाथि मृत्युदण्डको सजाय दिनुपर्ने माग खारेज गरिएको थियो पाकिस्तानमा उनीविरुद्ध हजारौंले हिंस्रक प्रदर्शन गरेका थिए ।
आसिया बीबीका दुई छोरीले उनी अगाडि नै देश छाडेको जनाइएको छ । क्यानडाले उनीहरु सबैलाई शरण दिएका छन् ।
सन् २००९ मा छिमेकीसँग झगडाको क्रममा आसिया बीबीले पेगम्बर मोहम्मदको आपमान गरेको आरोप लगाइएको थियो ।
उनलाई सन् २०१० मा अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो । उनी गत वर्षमात्र ८ वर्षपछि जेलबाट छुटेकी थिइन्।
सर्वोच्च अदालतले उनलाई निर्दोष ठहर्याउँदै मृत्युदण्डको फैसला खारेज गरिदिएको थियो । तर उनीविरुद्ध आन्दोलन अझै जारी थियो ।