
काठमाण्डु, २४ वैशाख – समाजवादी पार्टी, नेपालको सदस्यका रूपमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उपप्रधानमन्त्री उपेन्द्र यादवबाट शपथग्रहण लिएका छन् ।
बाबुराम नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र नेतृत्वको संघीय समाजवादी फोरमबीच एकीकरण भई हिजो .२३ वैशाखमा) समाजवादी पार्टी, नेपाल घोषणा गरिएको हो ।
नवघोषित पार्टीको आज बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा आयोजित पार्टीको केन्द्रीय समितिको पहिलो पूर्ण बैठकमा उपेन्द्रले बाबुरामसहित केन्द्रीय समितिका ४ सय ३० सदस्यलाई शपथग्रहण गराएका हुन् ।
उपेन्द्र पार्टी अध्यक्ष हुन् भने बाबुराम संघीय परिषद् अध्यक्ष हुन् । पार्टीको आधारपत्रमा केन्द्रीय समितिको अध्यक्ष कार्यकारी हुने व्यवस्था छ ।
उपेन्द्रले कार्यकारी अध्यक्षका हैसियतमा बाबुरामसहित अर्का वरिष्ठ नेता अशोक राईसहित सबै केन्द्रीय नेतालाई शपथ गराए ।
बैठकमा केन्द्रीय समितिका वयोबृद्ध नेता प्रेमकृष्ण पाठक (८० वर्ष)ले उपेन्द्रलाई पहिला शपथग्रहण गराए । लगत्तै यादवले पाठकसहित सबै नेतालाई शपथग्रहण गराएका हुन् ।