एजेन्सी – बलिउड अभिनेता सलमान खान र अजय देवगन एकदमै मिल्नेसाथी हुन् । यी दुवैजनामा एउटालाई कुनै समस्या आइपर्दा अर्को सहयोगका लागि अघि सर्छन् ।
तर अहिले आएर अजय देवगनले यस्तो काम गरेका छन्, जसका कारण अजय र सलमानबीचको मित्रतामा फाटो आउन सक्ने अनुमान लगाइँदैछ । अक्षय कुमारले चलचित्र ‘सूर्यवंशी’ आउँदो ईदको अवसरमा रिलिज गर्ने घोषणा गरिसकेका छन् ।
यस फिल्ममा अजय देवगन र रणवीर सिंहको पनि अभिनय रहने आधिकारिक घोषणा समेत भइसकेको छ । रणवीर सिंह यस फिल्ममा ‘सिम्बा’ को रुपमा देखिनेछन् भने अजय देवगन ‘सिंघम’ बनेर आउनेछन् ।
यता अभिनेता सलमान खान पनि २०२० को ईदमा उनको फिल्म ‘इन्शाअल्लाह’ रिलिज गर्ने तयारीमा छन् । सलमानको यस फिल्ममा उनको जोडीको रुपमा अभिनेत्री आलिया भट्ट रहनेछिन् । फिल्म ‘इन्शाअल्लाह’ को निर्देशन सञ्जय लीला भन्सालीले गर्दैछन् । भन्सालीले अजयसँग यस अघि फिल्म ‘हम दिल दे चुके सनम’ मा काम गरेका थिए ।
यतिबेला बलिउडमा फिल्म ‘सूर्यवंशी’ र इन्शाअल्लाह’ को भिडन्तलाई लिएर चर्चा चलिरहेको छ । साथै अजय देवगन ‘सूर्यवंशी’ मा जोडिएपछि यो कुरा सलमान खानका लागि असहज हुने चर्चा पनि भइरहेको छ ।
पछिल्ला केही वर्षदेखि अभिनेता सलमान खानले लगातार ईदमा आफ्ना फिल्महरु रिलिज गर्दै आइरहेका थिए । तर अब २०२० को ईदमा अक्षयको ‘सूर्यवंशी’ र सलमान खानको ‘इन्शाअल्लाह’ बीच भिडन्त हुनेछ । अक्षय कुमार र सलमान खानबीचको भिडन्तमा अभिनेता अजय देवगन अक्षय कुमारको फिल्ममा जोडिएपछि सलमान र अजयबीचको मित्रता पनि असर पर्ने पक्का भएको छ ।