काठमाण्डु, २३ वैशाख – सर्वोच्च अदालतमा सोमबार भएको एनसेल कर विवादसम्बन्धी रिटमाथिको छलफल नसकिएकोले हेर्दाहेर्दैमा राखिएको छ । दुई पक्षीय छलफल नटुंगिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।
न्यायाधीशहरु सपना मल्ल प्रधान र प्रकाशकुमार ढुंगानाको इजलासमा एनसेल करविवादबारे छलफल भएको हो। भोलि पनि सोही इजलासमा छलफल हुनेछ ।
२०७६ वैशाख ३ गते सर्वोच्चले एनसेलबाट सबै कर असुल गर्न आदेश दिएको थियो । त्यसपछि ठूला करदाता कार्यालयले ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रूपैयाँ कर निर्धारण गरेको थियो । उक्त कर बढी भएको भन्दै एनसेल सर्वोच्च गएको हो ।
एनसेल पुनः सर्वोच्च गएपछि सर्वोच्चले कर असुली प्रक्रिया विवाद लम्बिएको छ । एनसेलका तर्फबाट रमेश घिमिरेले ठूला करदाता कार्यालयविरुद्ध अघिल्लो सोमबार सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए ।
यो बीचमा एनसेलले कर तिर्नबाट जोगिन अमेरिकास्थित लगानी विवाद समाधानसम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र इक्सीडमा समेत उजुरी गरिसकेको छ । लगानी विवाद सल्टाउने सो संस्थामा उसले करको विषय पनि आकर्षित गराउन खोजिरहेको छ ।