
संखुवासभा, २३ बैशाख – नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का संखुवासभा इञ्चार्ज देव गुरुङसहित चार जना कार्यकर्ताहरु पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
जिल्ला अदालत संखुवासभाले जिल्ला इञ्चार्ज गुरुङसहित सुनिता राई, सुजन विश्वकर्मा, सञ्जय तामाङ र बुद्धिमान तामाङलाई कारागार चलान गरेको जिल्ला अदालतका सूचना अधिकारी गोविन्द कार्कीले बताए । उनीहरुमाथि बहुचर्चित नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनामा विस्फोट गराएको, संगठित अपराध, सार्वजनिक सम्पत्तिमाथि आगजनी र अवैध हातहतियारसहितको मुद्धा दायर गरिएको छ ।
प्रहरीले संखुवासभा जिल्लाका साथै विभिन्न फरक–फरक स्थानबाट विप्लव समूहका ९ जना कार्यकर्ता पक्राउ गरेको थियो । जिल्ला इञ्चार्ज गुरुङ र सुनिता राईलाई काठमाण्डुबाट पक्राउ गरेको थियो भने अन्य कार्यकर्ताहरु विभिन्न समयमा फरक–फरक ठाउँबाट पक्राउ परेका थिए ।