बङ्गलादेशमा फानीले लियो १२ जनाको ज्यान

काठमाण्डु टुडे २०७६ वैशाख २२ गते १४:३९ मा प्रकाशित

बङ्गलादेश, २२ वैशाख – बङ्गलादेशको तटीय इलाकामा फानी नामको आँधीका कारण आइतबारसम्म १२ जनाको मृत्यु भएको छ ।

आँधीले भारतको उडिसामा १२ लाख, बङ्गलादेशमा १६ लाख जना शरणार्थी स्थलमा पुगेका छन् । बङ्गलादेशमा कम्तीमा ३६ ओटा गाउँमा बाढी आएको र बाढीले २ हजार भन्दा बढी घरहरु ध्वस्त भएको एएफपी समाचार समिति जनाएको छ ।

रुख र पर्खालहरु ढलेर ६ जनाको मृत्यु भएको छ भने, अन्य छ जनाको चट्याङको कारण मृत्यु भएको बंगलादेशी विपद व्यवस्थापन अधिकारी बेनाजिर अहमदले बताए ।

बङ्गलादेशी अधिकारीहरुले फानीका कारण घरहरुमा क्षति पुगेको, रुखहरु ढलेका, विद्युत सेवा अबरुद्ध भएको र रेल, सडक तथा हवाई सेवामा असर परेको बताएका छन् । बंगलादेशी अधिकारीहरुले दशौं हजार मानिसलाई सुरक्षित स्थलमा पुर्याएका छन् ।

सन् २००९ मा आइला नाम गरेको आँधीले दक्षिणपश्चिम बंगलादेशमा ताण्डब मच्याउँदा झण्डै एक सय ७९ जनाको ज्यान गएको थियो भने तीस लाखभन्दा बढी मानिस प्रभावित भएका थिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us