
काठमाण्डु, २२ वैशाख – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘मेरो सरकार’ बाहेक नीति तथा कार्यक्रम ठीकै भएको बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नीति तथा कार्यक्रम पढ्दा नेपाल सरकारको ठाउँमा मेरो सरकार भनेकोमा कांग्रेसले संशोधन गरी नेपाल सरकार राख्न माग गरेको छ ।
संघीय संसदमा आइतबार सरकारको नीति तथा कार्यक्रममा संशोधन गरियोस् भन्ने प्रस्तावमा मत हाल्न आह्वान गर्दै देउवाले भने, ‘मेरो सरकारबाहेक नीति तथा कार्यक्रम ठीकै छ ।’
एक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रमका योजना दुई वर्षे, चार वर्षे त कुनै २५ वर्षे योजनासमेत राखिएको भन्दै देउवाले आलोचना गरे ।
सरकारको नीति तथा कार्यक्रम खोक्रो भएको उनले बताए । उनले राणाकालदेखि चलेको रेल र स्टीमरलाई नयाँ जस्तै प्रचार गरेको बताए ।
राणाकालदेखि चलेको रेल र स्टीमरलाई नयाँ जस्तै गरी सरकारले प्रचार गरेको पनि उनले बताए ।
‘राणाकालदेखि चलेको रेल र स्टीमरलाई नयाँझैं सरकारले प्रचार गरेको छ,’ देउवाले भने, ‘लहडमा नभइ आवश्यकताका आधारमा योजना बनाउनुपर्छ ।’
सरकारको काम गर्ने नीति र शैलीबाट जनता ठगिएको देउवाको भनाइ छ ।
‘कर बढ्यो। भ्रष्टाचार बढ्यो । महँगी बढ्यो । चर्को व्याजले लगानी निरुत्साहित भएका छन्,’ उनले भने ।
विकास, निर्माणका काम नहुँदा जनता निराश भएको देउवाले दाबी गरे ।
आफ्नो पालामा सुरू गरेको सामाजिक सुरक्षा कार्यक्रमलगायतका कार्यक्रमहरू आफ्नै सरकारले सुरू गरेझैं सरकारले प्रचार गरेको उनले बताए । तयारीबिना ल्याएको नीति तथा कार्यक्रमले नतिजा नदिने देउवाको भनाइ छ ।
‘नीति तथा कार्यक्रम फगत नारामा सीमित हुने कुरामा कुनै शंका छैन,’ उनले भने, ‘तयारीबिना ल्याइएको छ नीति कार्यक्रम ।’