राजपाले भन्याेः प्रधानमन्त्रीज्यू ! संसदको मर्यादा राख्नुपर्‍यो

काठमाण्डु टुडे २०७६ वैशाख २२ गते ११:४२ मा प्रकाशित

काठमाण्डु, २२ वैशाख – राष्ट्रिय जनता पार्टी (राजपा)ले मधेस तथा थरुहट आन्दोलनका क्रममा भएका घटनाबारे छानविन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा राजपा सांसद लक्ष्मणलाल कर्णले प्रतिवेदन सार्वजनिक गर्न सभामुखले गरेको रुलिङ कार्यान्वयन नभएको भन्दै ध्यानाकर्षण गराए ।

‘संविधान संशोधनको कुरा पटक–पटक उठाइराखेका छौं । लिखित र मौखिकअनुसार गरिरहेका छौं । मधेस तथा थरुहट आन्दोलनका क्रममा लागेका मुद्दा अहिले पनि फिर्ता भएन । सरकारका कारण निर्दोष व्यक्ति जेलमा छन्,’ उनले भने, ‘लाल आयोगको प्रतिवेदन जनसमक्ष आउनुपर्‍यो ।’

प्रधानमन्त्रीलाई भेट्दा यो कुनै सुन चोरी होइन, जसलाई अलमारीमा ताल्चा लगाएर राखिन्छ भन्दै मिठो कुरा गरेको, तर प्रतिवेदन सार्वजनिक नभएको उनले बताए । उनले भने, ‘म फेरि आज सम्झाउन चाहन्छु, प्रधानमन्त्रीज्यूले संसदको मर्यादा राख्नुपर्‍यो ।’

आफ्नो रुलिङ पालना गराउने जिम्मेवारी सभामुखको पनि भएको भन्दै उनले भने, ‘सभामुखले गरेको रुलिङ सरकारले मान्छ कि मान्दैन ?’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us