
काठमाण्डु, १९ बैशाख – बैशाख महिनाभित्रै काठमाण्डु उपत्यकाको रिङरोडमा विद्युतिय गाडी संचालनमा आउने भएको छ । सुन्दर यातायात प्रालीले ३ महिनादेखि थन्किएको २ वटा विद्युतिय गाडी संचालनमा ल्याउन लागेको हो ।
हाल २ वटा मात्र गाडी रहेपनि गाडी संचालन गर्ने इजाजत पाएपछि थप ११ वटा गाडी ल्याउने सुन्दर यातायात प्रालीको योजना छ ।
सुरुवाती चरणमा रिङरोडमा संचालन गरिने यी सवारी पछी अन्य शाखा बाटोमा पनि संचालन गरिने कम्पनीले जनाएको छ । प्रालीले रिङरोड भित्र जहाँबाट जहाँ पुगेपनि २० रुपैयाँ मात्र भाडा लिने र विद्यार्थीलाई ५ रुपैया छुट दिने योजना बनाएको छ ।
भाडाको लागि कम्पनीले नगद, सुन्दर यातायात पब्लिक रिचार्ज कार्ड, एटिएम र प्रभु पे बाट तिर्न सकिने सुन्दर यातायात प्रालीका अध्यक्ष भेष बहादुर थापाले जानकारी दिए ।
गाडीमा उभिएर यात्रा गर्नेको लागि ह्याङ्गर, ६ वटा सिसि क्यामरा, जिपिएस, एसी लगाएतको सुविधा छ भने गाडी कतैपनि रोकिएर यात्रु नपर्खने र अशक्तलाई निशुल्क यात्रा गराउने अध्यक्ष थापाले जानकारी दिए ।
कम्पनीले २ करोड ५० लाख खर्चेर ७ वटा चार्जिङ स्टेसन भित्राईसकेको छ ।