सिटामोलका खोल डष्टबिनमा फाल्नुहुन्छ ? त्यसो भए एकपटक यो पनि पढ्नुहोस्

-नारायण ढुङ्गाना २०७६ वैशाख १९ गते १४:१८ मा प्रकाशित

काठमाण्डु, १९ वैशाख – आफन्त बिरामी हुँदा प्रयोग हुने सिटामोल, ट्याबलेट तथा क्याप्सुलका पत्ता(खोल) तपाईं के गर्नुहुन्छ ? सिधै डष्टबिनमा पठाउनुहुन्छ होला, तर त्यही पत्ता उपयोगी हुन्छ भन्ने कुरा थोरैलाई मात्रै थाहा होला ।

एकजना भारतीय कलाकार वीमान नागले भने त्यही पत्तालाई प्रयोग गरी आकर्षक मूर्ति बनाएर उदाहरणीय बनेका छन् । उनका यी मूर्तिहरु अहिले काठमाण्डुको नेपाल कला परिषद्‌मा प्रदर्शनीमा राखिएको छ ।

गीतकारका साथै रेल चालकसमेत रहेका नाग कुशल मूर्तिकारसमेत हुन् । सानैदेखिको सोखका कारण उनले फालिएको ट्याबलेटका खोलबाट चित्र बनाउँदै आएको बताए । अहिले उनको मूर्तिकला व्यावसायिक बनेको छ । एउटा चित्र लाखौँमा बिक्री गर्ने गरेको उनले बताए । काठमाण्डुमा प्रदर्शन गरिएका चित्रका मूल्य भने ५० हजार भारुसम्मका छन् ।

उनले फ्याँकिएका ट्याबलेटका खोलबाट बनाएको ‘भगवान गणेशले भायोलिन बाजा बजाउँदै गरेको तस्बिर’ सुन्दर लाग्छ । पाँच दिनदेखि जारी ‘इन्डो–नेपाल अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’मा उनका मूर्तिले धेरैको मन जितेको छ ।

अझ फालिएका औषधिका पत्ताबाट बनाइएको भनेपछि धेरै प्रश्न आउने गरेको कलाकार वीमान बताउँछन् । ‘नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले चित्र अवलोकन गर्दा साह्रै राम्रो र उपयोगी काम भनेर प्रशंसा नै गरे’, वीमानले अनुभव सुनाए ।

काठमाण्डुमा भएको प्रदर्शनीमा गणेशसहित बुद्ध, बिरालो, मुकुण्डो र दुर्गामाताको मूर्ति छ । फालिएका वस्तुसमेत उपयोगी हुनसक्छ भनेर आफूले मूर्ति प्रदर्शनीका लागि नेपाल ल्याएको उनको भनाइ छ । गाउँ चहारेर ट्याबलेटका खोल सङ्कलन गर्ने गरेको भन्दै उनले धेरै साथीभाइ आफन्त र चिनेजानेको ठाउँमा सङ्कलन अभियान नै चलाउने गरेका छन् ।

यसरी मूर्ति बनाउने आफू भारतको एकमात्रै कलाकार भएको दाबी गर्ने उनले मूर्तिमा भने कुनै पनि बाह्य रङ प्रयोग नगर्ने जानकारी दिए । उनको यो काममा पत्नी शाम्पा नाग पनि साथमा छिन् । ‘बीस वर्षअघि नेपाल घुमेर मात्रै गइयो, यसपालि मूर्तिकला प्रदर्शनीसँगै यहाँको पशुपतिनाथ र स्वयम्भूलगायत ठाउँ घुम्ने मौका मिल्यो, साह्रै सुन्दर, प्रकृतिले भरिपूर्ण छ नेपाल, नेपालीको सहयोगीभावले हर्षित बनाएको छ’, शाम्पाले भने ।

स्वयम्भूस्तुपाको डिजाइनले आफूलाई मन लोभ्याएको बताउँदै कलाकार वीमानले भने, ‘अर्काे वर्ष यसरी प्रदर्शनीमा आउँदा अवश्य पनि त्यही ट्याबलेटको पत्ताबाट बनेको स्वयम्भूको मूर्ति लिएर आउँछु ।’

प्रदर्शनीमा भारतका १० कलाकारका चित्रकला राखिएको छ । यस्तै नेपाली २४ चित्रकारका चित्रसमेत समावेस छन्। १ जना बङ्गलादेशका चित्रकारको चित्र पनि प्रदर्शनीमा देख्न सकिन्छ ।

चित्रकला प्रदर्शनीका संयोजक सपना शाहका अनुसार यहाँ नेपाल, भारत, बङ्गलादेश र बेलायतका ३६ चित्रकारका ६५ भन्दा बढी चित्रकला, पाँच मूर्तिकला र एक भिडियोकला प्रदर्शनमा छन् ।

प्रदर्शनीमा नेपाल, भारत र बङ्गलादेशको कला, संस्कृति, रहनसहन, रीतिरिवाज, जीवनशैली, मुहार चित्र समावेस छन् । नेपाल र भारतबीच सांस्कृतिक आदानप्रदान गरी शान्ति र मानवताको सम्बन्ध विस्तार गर्दै आपसी सद्भावका लागि ‘इन्डो–नेपाल कला उत्सव’ आयोजना गरिएको हो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us