परराष्ट्रमन्त्री स्वदेश फिर्ता

काठमाण्डु टुडे २०७६ वैशाख १९ गते १४:०८ मा प्रकाशित

काठमाण्डु, १९ वैशाख – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्चमा भाग लिई तथा तिब्बत स्वायत्त क्षेत्रको भ्रमण गरी बिहीबार स्वदेश फकिएका छन् ।

उनलाई ल्हासाको गोङ्गर विमानस्थलमा त्यहाँका उपमहासचिव छी दाङ हुले विदाइ गरेका थिए । परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणमा भएको चीनको राजकीय भ्रमण समग्रमा ऐतिहासिक, निकै सफल र फलदायी तथा सार्थक भएको बताए ।

उनले दुई मुलुकबीचको प्रगाढ सम्बन्धलाई दुई पक्षीय वार्ताका क्रममा उठाइएका विषय, त्यसमा भएका छलफल, सहमति र सम्झौताले अझै मजबुत बनाउने बताए ।

उनले चीनसँग बहुपक्षीय छलफलमा नेपाली सरोकारका विषय समेटिएको र त्यसले आगामी दिनमा नेपालको विकास कार्य अझै अगाडि बढाउन सहयोग पुग्ने आफूले ठानेको बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीका साथमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत होउ याङची र सञ्चारकर्मी रहेका थिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us