कुखुराजन्य उत्पादनको खपत नहुँदा कृषक मारमा

– नारायण अधिकारी २०७६ वैशाख १८ गते १५:३० मा प्रकाशित

काठमाण्डु, १८ वैशाख – कुखुराजन्य पदार्थको उत्पादन बढेपछि मूल्यमा अस्वभाविक गिरावट आएको छ । दानाको कच्चा पदार्थ र औषधिको मूल्यमा वृद्धि हुँदा कृषक विस्थापित हुने अवस्थामा पुगेका छन् ।

नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार लागत मूल्यभन्दा निकै सस्तोमा अण्डा बिक्री गर्न कृषक बाध्य भएका छन् । उनका अनुसार हाल अण्डाको लागत मूल्य प्रतिगोटा रु १० रहेको छ तर कृषकले फार्मबाट सरदर रु ६ मा बिक्री गर्न बाध्य भएका छन् ।

कँडेलले उत्पादन वृद्धि भएपछि बजार मूल्य पाउन नसकिएको बताए । एक वर्ष अघिसम्म एक सातामा एक लाख ५० हजार लेयर्स चल्ला बिक्री हुँदै आएकामा पछिल्लो समय तीन लाख चल्ला बिक्री भइरहेका छन् । त्यससँगै गत महीना काठमाडौँ, हेटौँडा र कास्कीमा बर्डफ्लु देखिएपछि खपत कम हुँदा मूल्यमा गिरावट आएको हो ।

हाल दैनिक ४० लाख अण्डा उत्पादन हुँदै आएका छन् । गत वर्ष यो सङ्ख्या ३२ लाख रहेको थियो । सङ्घका केन्द्रीय सचिव मदन पोखरेलले लागत मूल्य बढ्नु तर उत्पादन बढी भएका कारण र बर्डफ्लुका कारण खपत नहुँदा बजार अस्तव्यस्त भएको बताए । खपत बढाउनका लागि सङ्घ लागिरहेको भए पनि सार्थक हुन नसकेको उनको भनाइ छ ।

नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलका अनुसार लेयर्स चल्ला बढी उत्पादन भएका कारण अण्डाको मूल्य कम भएको हो । नेपालको बजारमा सातामा एक लाख ५० हजार हाराहारी चल्ला बिक्री हुँदा बजार सन्तुलन हुने भए पनि हाल चल्ला बढेका कारण उत्पादन बढी भई खपत हुन नसकेको उनले बताए ।

यसको प्रभाव अन्य क्षेत्रमा पनि देखिएको उनले बताए । हाल लेयर्स चल्लाको लागत मूल्य रु १०० हुँदै गर्दा बिक्री मूल्य रु ५० मात्रै रहेको छ । त्यसैगरी ब्रोइलर चल्लाको लागत मूल्य रु ५५ भए पनि रु २५ मा बिक्री गर्न बाध्य भएको उनले बताए ।

नेपालमा लेयर्स ह्याचरी १४ वटा छन् भने ब्रोइलर ह्याचरी २२१ पुगेका छन् । हरेक साता २५ लाख हाराहारी ब्रोइलर चल्ला उत्पादन हुने गर्दछन् । पोखरेलका अनुसार दाना उद्योगसमेत समस्यामा रहेका छन् । गत वर्ष प्रतिकेजी रु २५ मा खरीद गरेको भटमासको मूल्य यस वर्ष रु ४५ पुगेको छ भने ढुटो रु २५ बाट रु ३५ पुगेको छ । कच्चा पदार्थको मूल्य बढेसँगै दानाको मूल्य पनि बढेको छ । ब्रोइलर कुखुराका लागि दाना रु ५६ देखि रु ६२ सम्म प्रतिकेजी पर्दछ भने लेयर्स कुखुराका लागि रु ५० देखि ५८ पर्ने गरेको उनले बताए ।

मासुका लागि पालिएका कुखुरा फार्मबाट रु १८० प्रतिकेजी उठ्ने गरेको छ । ब्रोइलर कुखुरापालक कृषकबाहेक अन्य किसान मारमा परेका छन् । पोल्ट्री महासङ्घ नेपालका अध्यक्ष गुणचन्द्र विष्टले सरकारले यस व्यवसायलाई प्राथमिकतामा नराख्दा समस्या उत्पन्न भएको बताए । काठमाडौँमा बर्डफ्लु देखिँदा उपभोक्तालाई भ्रम पर्ने गरी सरकारले सन्देश प्रवाह गरेका कारण उपभोग घटेको उनले बताए ।

देशमा आत्मनिर्भर रहेको यस व्यवसायमा एक खर्बभन्दा बढी लगानी पुगेको व्यवसायीको भनाइ छ । सात हजारभन्दा बढी कृषकले लेयर्स कुखुरा पाल्दै आएका छन् । यस क्षेत्रमा हजारौँले रोजगारी पाएका छन् । बैंकिङ क्षेत्रको लगानी यकिन नभए पनि कूल लगानीको आधाभन्दा बढी रहेको अनुमान गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us