काठमाण्डु, १७ वैशाख – नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) र तराई मधेश फोरम नेपालबीच एकीकरण भएको छ । तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट अलग भइ तराई मधेश फोरम गठन गरेका अमर यादव नेकपामा समाहित भएका हुन् ।
प्रचण्ड निवासमा खुमलटारमा एक कार्यक्रमको आयोजना गरी दुवै पाटी एकीकरण भएको घोषणा भएको छ । मधेशवादी दलहरुले मधेशी जनतालाई भ्रम राखेको उल्लेख गर्दै नेता यादवले अगामी चुनावमा मधेशका पसल(पार्टी) हरु बन्द हुने दावीसमेत गरे ।
कार्यक्रममा बोल्दै प्रचण्डले संविधान गतिशील दस्तावेज भएको बताए । उनले भने, ‘संविधान जनताको माग अनुसार आवश्यकता अनुसार संविधानमा परिमार्जन, विकास र संशोधन हुन्छ ।’
अध्यक्ष प्रचण्डले जनतालाई बढि भन्दा बढि अधिकार दिनका लागि आफूले संविधान संशोधन गराउन प्रयत्न गरेको बताउँदै संविधानलाई जीवन्त दस्तावेजको संज्ञा पनि दिए ।
उनले संविधान संशोधनका लागी प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी ओलीसंग छलफल गरेर प्रक्रिया सुरु गर्ने धारणा राखे । सबैैतिरको जनताले विकासको अनुभूति गरुन् भन्न चाहना आफूहरुको रहेको भन्दै तयार मधेश क्षेत्रमा बिशेष कार्यक्रम ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।
यसैबीच मधेस तराई फोरम नेपालका अध्यक्ष यादवले संविधानमा देखिएका असन्तुष्टि नेकपा र नेकपा नेतृत्वको सरकारले सम्बोधन गर्ने विश्वासका साथ यो निर्णयमा पुगिएको विज्ञप्तिमार्फत जनाएका छन् ।