
काठमाण्डु, १७ वैशाख – काठमाण्डु उपत्यकासहित देशैभर गर्मी बढेको छ । केहीदिन अघिसम्म सक्रिय रहेको प्रिमनसुन अहिले कमजोर हुँदा मौसम सफा छ । मौसम सफा भएकाले देशभरी नै तापक्रम बढेर गर्मी भएको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सोमबार ३१ दशमलव ३ डिग्री सेल्सियस पुगेको काठमाण्डुको मंगलबार बिहानको तापक्रम १६ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाण्डुको दिउँसोको तापक्रम २९ देखि ३१ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ ।
यस्तै धनकुटाको बिहानको तापक्रम १८ दशमलव ६ डिग्री सेल्सियस, दिपायलको १९ दशमलव २ डिग्री सेल्सियस, विरेन्द्रनगरको २० डिग्री सेल्सियस र पोखराको १८ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ ।
मौसम खुल्ला हुने भएकाले यो तापक्रम अझै बढ्ने संभावना रहेको मौसमविद् वरुण पौडेलले बताए । तर बुधबार पश्चिमबाट पश्चिमी वायु प्रवेश गर्ने भएकाले दिपायल, नेपालगन्ज, घनगढी आसपासका क्षेत्रको तापक्रम थोरै घट्ने उनको अनुमान छ ।
मंगलबार पहाडी क्षेत्रको मौसम दिउँसोपछि बदली भई एक दुई ठाउँमा मेघगर्जनसहित एकैछिन पानी पर्ने संभावना रहेको मौसमविद् पौडेलले जानकारी दिए । अरु ठाउँको मौसम भने सफा रहने उनको अनुमान छ ।