
काठमाण्डु, १६ बैशाख – मधेसमा विखण्डनको अभियान चलाईरहेका डा. सीके राउतले सरकारसँग भएको सम्झौतापछि दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
जनमत पार्टीको नाममा राउतले आइतबार दल दर्ताको निवेदन दिएका हुन् । दल दर्ताका लागि दिइएको निवेदनमा राउत अध्यक्ष रहने गरी ३५ जना केन्द्रीय सदस्य हुने उल्लेख छ ।
केन्द्रीय समितिमा १२ जना महिला, दलित समुदायबाट ६ जना र मुस्लिम समुदायबाट ४ जनालाई समावेस गरिएको छ ।
सरकारसँग गएको फागुन २४ गते भएको ११ बुँदे सम्झौतापछि चैत ४ गते सिराहाको लहानमा बसेको बैठकले स्वतन्त्र मधेस गठबन्धन भंग गरी जनमत पार्टी गठन गर्ने निर्णय गरेको थियो । त्यही अनुरुप निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको हो ।
स्वतन्त्र मधेस गठबन्धनका बेला प्रयोग गरेको नारा फेर्दै अहिले ‘जनमत दो, आजादी लो’ भन्ने नारा पनि पार्टीले तय गरेको छ ।