
काठमाण्डु, १६ वैशाख – नेपाल टेलिकमले आज (सोमबार) देखि प्रिपेड मोबाइलमा प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ । प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताइन् ।
अब नेपाल टेलिकमका जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताले चीन वा भारत गएको बेला आफ्नै मोबाइलबाट नेपालमा कल गर्न सक्ने छन् । नेपालबाट आएको कल उठाउन र एसएमएस पठाउन तथा प्राप्त गर्न सकिने छ ।
त्यसैगरी सोही मोबाइलबाट चीन वा भारतका स्थानीय मोबाइल अपरेटरका नम्बरमा समेत कल गर्न सकिने प्रवक्ता वैद्यले जानकारी दिइन् ।
चीनमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट ५० रुपैयाँ लाग्नेछ भने चीनबाट नेपालमा कल गर्दा प्रतिमिनेट ९० रुपैयाँ लाग्ने छ ।
त्यसैगरी नेपालबाट गरेको फोन कल उठाउँदा प्रतिमिनेट ५३ लाग्ने बैद्यले बताइन् । भारतमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट ३० लाग्नेछ भने भारतबाट नेपालमा कल गर्दा प्रतिमिनेट ३० रुपैयाँ नै लाग्ने छ । नेपालबाट गरेको फोन कल उठाउँदा प्रतिमिनेट १४ लाग्ने छ ।
भारत वा चीनबाट नेपालबाहेकका देशमा कल गर्दा प्रतिमिनेट ३९७ लाग्ने छ। एसएमएसको हकमा चीनबाट नेपाल पठाउँदा प्रतिएसएमएस ५४ र भारतबाट प्रति एसएमएस २४ रुपैयाँ लाग्ने छ ।
तर, एसएमएस प्राप्त गर्न भने कुनै शुल्क लाग्ने छैन । कम्पनीको वार्षिकोत्सवको अवसरमा गएको २२ माघमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ’ सेवाको शुभारम्भ गरेका थिए । रासस