कांग्रेस प्रवेश गरेको हल्लाबारे पार्वती राईले मुख खोलिन्

काठमाण्डु टुडे २०७६ वैशाख १५ गते १२:३८ मा प्रकाशित

काठमाण्डु, १५ बैशाख – चर्चित मोडल पार्वती राईले आफू कुनै पार्टीमा प्रवेश नगरेको बताएकी छन् ।

कांग्रेस नेता प्रकाशमान सिंहले निर शाहसँगै कलाकार शंकर बिसी र पार्वती राई लगाएतका कलाकार कांग्रेस प्रवेश गरेको बताउँदै उनीहरुलाई बधाई तथा शुभकामना समेत दिएका थिए । कलाकारको फोटोसहित बधाइ दिएपछि उक्त कुरा समाचार मध्याममा समेत आएको थियो । पछि उनले उक्त फेसबुक स्टाटस डिलेट गरेका छन् ।

मोडल राईले आफ्नो कुनै पार्टीसँग दूराग्रह र पूर्वाग्रह नभएको बताउँदै आफू अहिलेसम्म स्वतन्त्र कलाकार भएको बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले प्रकाशमान सिंहको स्टाटसको खण्डन गरेकी छन् ।

आफू भविष्यमा कुनै पार्टीमा प्रवेश गरेमा आफैँ सामाजिक सञ्जालबाट जानकारी गराउने भन्दै उनले भ्रामक समचार सम्प्रेषण नगरिदिन आग्रह समेत गरेकी छन् ।

उनले फेसबुकमा लेखेकी छन्, ‘नेपालको कुनै पनि पार्टीहरुसँग मेरो पूर्वाग्रह, दूराग्रह छैन । म विशुद्ध स्वतन्त्र नेपाली कलाकार हो र कलाकारितामै विश्वास गर्छु । यदि भविष्यमा कुनै पार्टीसँग संलग्न हुन गएमा म आफैँ सामाजिक सञ्जालबाट जानकारी गराउने छु। भ्रामक समाचारहरु सम्प्रेसन नगरिदिनु हुन विनम्र अनुरोध गर्दछु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us