
काठमाण्डु, १५ बैशाख – नेपाल एयरलाइन्सले काठमाण्डुबाट जापानको ओसाका उडानको भाडा निर्धारण गरेको छ । जापानको नागरिक उड्डयन नियमकले स्वीकृत गरेको भाडादर नै लागू हुने एयरलाइन्सले जानकारी दिएको छ ।
असार १९ गतेदेखि उडान शुरु गर्ने घोषणा गरेको एयरलाइन्सले भाडा ४५ हजार लिने भएको छ । दुईतर्फी भाडा ७७ हजार हुने एयरलाइन्सले जानकारी दिएको छ । भाडादर स्वीकृत भएको र अन्य कागजी प्रक्रिया मिलाउनेवित्तिकै टिकेटिङको काम पनि शुरु गरिने एयरलाइन्सका सहप्रवक्ता नवराज कोइरालाले जानकारी दिए ।
एयरलाइन्सले काठमाण्डुबाट जापानको ओसाका हप्तामा तीन सिधा उडान गर्ने बताएको छ । असार १९ देखि उडान शुरु हुने एयरलाइन्सले जानकारी दिएको छ ।
एयरलाइन्सले लामो गन्तव्यमा उडाने भन्दै ल्याएको वाइडबडीले गन्तव्य नापाउँदा छोटो दुरीकै गन्तव्यमा आधा क्षमतामा उडिरहेका छन् ।
नेपाल एयरलाइन्सले १३ वर्षदेखिको उडान सन् २००७ मा जापान उडान बन्द गरेको थियो । चीनको सांघाइबाट ओसाकाको कन्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरेको एयरलाइन्सले जहाज अभावमा बन्द गरेको थियो ।
त्यसपछि जापानसँग प्रत्यक्ष हवाइ सम्पर्क नहुँदा भाडा महंगोमात्र होइन यात्रा पनि झन्झटिलो भएको भन्दै गुनासो आउने गरेको छ । सिधा हवाइ सम्पर्क टुटेपछि जापानबाट नेपाल आउने पर्यटकको संख्यामा समेत ओरालो लागिरहेको छ ।
नेपाल जापान बीचको द्विपक्षीय हवाइ सम्झौताअनुसार नेपालका एयरलाइन्सहरूले जापानको हानेदा एयरपोर्ट बाहेकका अरु सबै विमानस्थलमा उडान तथा अवतरण गर्न पाउने छन् ।
सम्झौताअनुसार अबदेखि हप्ताको १४ तथा दैनिक २ उडान नेपालबाट जापानका विभिन्न सहरमा गर्न मिल्ने छ । नेपालले हालसम्म ३९ देशसँग हवाई सम्झौता गरेको छ ।