
काठमाण्डु, १५ वैशाख – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले आफु अहिलेको ठाउँसम्म आउनुको श्रेय पत्रकार र प्रेसकै भएको बताएका छन् । नेपाल पत्रकार महासंघको केन्द्रीय टोलीसँगको भेटमा अध्यक्ष प्रचण्डले प्रेसले विगत माओवादी युद्धका क्रममा आफूहरुले उठाएका एजेण्डाहरुलाई जनताका बीचमा पुर्याउने काममा सकारात्मक सहयोग गरेकै कारण आफू अहिले शान्ति सम्झौता हुँदै यो अवस्थामा आईपुगेको बताए ।
‘हामीले उठाएका मुद्दाहरु जनतासम्म पुर्याउने कुरामा पत्रकार महासंघले सस्थागतरुपमा र समग्र प्रेसले भूमिका खेलेको नभए म यहा हुने थिइन । यस अर्थमा म अहिले जहाँ छु पत्रकार र प्रेसकै कारण भएको हुँ,’ अध्यक्षले प्रचण्डले भने ।
‘हामीले संविधानसभा, गणतन्त्र, समानुपातिक समावेशीता, धर्मनिरपेक्षताको मुद्दा उठाउँदा तपाईहरुले साथ दिनुभयो । पत्रकार महासंघले शुरुदेखि हाम्रो एजेण्डा, हामीले उठाएका विषयमा सकारात्मक बनिदियो । पत्रकार महासंघको पदाधिकारीसँगको लगातार हुने गरेको अन्तर्क्रिया र छलफलले पनि हामीलाई राम्रै गरेको थियो’, नेपाल पत्रकार महासंघको टोलीले बुझाएको १६ बुँदे ध्यानाकर्षषपत्र बुझ्दै अध्यक्ष प्रचण्डले भने ।
प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतामा सरकार र आफनो पार्टी प्रतिवद्द रहेको पनि प्रचण्डले बताए । संविधानले व्यवस्था गरेको प्रेस स्वतन्त्रता कुण्ठित नहुने भन्दै प्रचण्डले प्रेस स्वतन्त्रा कुण्ठिन नहुने गरी कानुन निर्माणमा आफनो भूमिका रहने बताए ।
उनले अहिले सरकारमा जेलनेल भोगेका र सवै हन्डर ठक्कर खाएकाहरुकै सरकार भएकोले प्रेसको पक्षमा सरकार सकारात्मक रहने पनि विश्वास दिलाए । उनले संविधानले प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको भन्दै अब कानुन बनाउने बेलामा पनि सम्वन्धित सरोकारवालासँग छलफल गरेरै गर्नुपर्ने बताए ।
‘पत्रकार महासंघको तर्फवाट तपाईहरुले उठाउनु भएको कुरा जायज छ’, अध्यक्ष प्रचण्डले भने, ‘यो विषयमा पार्टी र सरकारमा छलफल हुन्छ । म पनि प्रधानमन्त्रीलाई यसबारे ध्यानाकर्षण गराउँछु । तपाईहरुका कुरा सरकारसमक्ष पुर्याउने र सम्भव हुने जति काम गर्न म पनि पहलकदमी लिन्छु ।’