नरेन्द्र माेदीकाे सम्पतिः बैंकमा ४ हजार, सुनका चार वटा औठी(सम्पति विवरणसहित)

काठमाण्डु टुडे २०७६ वैशाख १४ गते १२:५५ मा प्रकाशित

नयाँदिल्ली, १४ वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साढे दुई करोड सम्पत्ति रहेको विवरण बुझाएका छन् । मोदीले शुक्रबार भारतीय निर्वाचन आयोगमा गुजरातको गान्धीनगरमा आवासीय घर, १ करोड २७ लाख बचत (आवधिक बचत) र ३८ हजार ७ सय ५० नगदसहित साढे दुई करोड सम्पत्ति रहेको विवरण बुझाएका हुन् ।

उनले सन १९८३ मा गुजरात विश्वविद्यालयबाट एमए (डिग्री) गरेका छन् । समाचार अनुसार उनले सन १९७८ मा दिल्ली विश्वविद्यालयबाट कलामा स्नातक तथा १९६७ मा गुजरात बोर्डबाट एसएससी परीक्षा उत्तीर्ण गरेको उल्लेख छ ।

प्रधानमन्त्री मोदीले १.४१ करोड बराबरको चल सम्पत्ति तथा १.१ करोड बराबरको अचल सम्पत्ति रहेको उल्लेख गरेका छन् । मोदीले टैक्स सेभिङ इन्फ्रा ब्रान्डमा २० हजार, राष्ट्रिय बचत प्रमाणपत्र (एनएससी) मा ७.६१ लाख तथा एलआईसी पोलीसीमा १.९ लाख रुपयाँ लगानी रहेको उल्लेख गरेका छन् ।

उनको बचत खातामा बाँकी ४ हजार १ सय ४३ रुपैयाँ छ । उनीसँग सुनका चार औठी रहेको उल्लेख छ । जसको तौल ४५ ग्राम छ । यसको मुल्य १.१३ लाख पर्ने बराबर पर्छ । उनीसँग गान्धीनगरको सेक्टर १ मा ३ हजार ५ सय ३१ वर्ग फिट जग्गा छ । विवरणअनुसार यसको अनुमानित मुल्य १.१ करोड मानिएको छ । जसमा उनको जग्गामा भएको घर पनि सामेल छ ।

उनले सरकारी तलब र बैकबाट प्राप्त ब्याजलाई आयस्रोतका रुपमा उल्लेख गरेका छन् । उनले बुझाएको विवरणमा पत्नी जशोदाबेनको आयस्रोत र पेशा भने उल्लेख गरेका छैनन् । उनीमाथि कुनै आपराधिक मुद्दा छैन र कुनै सरकारी रकम तिर्न बाँकी पनि छैन ।

लगातार दुईपटक लोकसभामा चुनाव लडिरहेका मोदीले सन २०१४ मा बुझाएको विवरणमा कुल १.६५ करोड सम्पत्ति रहेको उल्लेख थियो । हाल उक्त सम्पत्ति करिब १ करोडले बढेर अढाई करोड पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us