
खलङ्गा, १३ बैशाख – जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले आफूलाई आएको विदेश भ्रमणको कोटामा छोरीलाई पठाएको पाइएको छ ।
प्रमुख र उपप्रमुख जानुपर्ने भ्रमणमा उपप्रमुख र कर्मचारीलाई समेत थाहै नदिई लुकिछिपी भ्रमणमा छोरीलाई पठाइएको हो । स्रोतका अनुसार फोहर व्यवस्थापन र स्मार्ट सिटी बनाउने विषयमा गत वर्ष प्रमुख सेजुवाल उपप्रमुख अप्सरादेवी न्यौपाने (महत)लाई फिलिपिन्समा अवलोकन भ्रमणको निम्ता आएको थियो ।
एउटा गैर सरकारी संस्थाको पहलमा त्यहाँको भ्रमणको अवसर पाइएकोमा प्रमुख र कर्मचारीको मिलेमत्तोमा सेजुवालकी छोरी र तत्कालीन चन्दननाथ नगरपालिकामा कार्यरत कर्मचारी निर्मला डाँगीलाई पठाएको पाइएको नगरपालिकाका कर्मचारी बताउँछन् ।
‘प्रमुखकी छोरी र कर्मचारी फिलिपिन्स भ्रमणमा गएर आएपछि मात्रै थाहा भयो’, प्रशासन शाखामा कार्यरत एक कर्मचारीले भने, ‘खै कुन्नी के विषयमा उनीहरु गएका रहेका छन्, बारम्बार नगर कार्यपालिका र कर्मचारीको बैठकमा कुरा उठाउँदासमेत सुनुवाइ हुन सकेको छैन ।’
ती कर्मचारीका अनुसार प्रमुख र उपप्रमुखको नाममा आएको चिठीनै गायब बनाइएको रहेछ । प्रशासन शाखामा चिठी दर्ता भए नभएको बुझ्न खोज्दा त्यहाँका कर्मचारीले आफ्नो हातमा चिठी नै नपरेको बताउँछन् । यो मात्रै होइन यहाँ कति चिठी गायब हुन्छन्, पत्तै हुँदैन, के के मात्र भएको छैन र यहाँ भन्दै उनले उल्टै प्रश्न गरे ? तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र प्रमुखको हात रहेको यहाँ कार्यरत कर्मचारी बताउँछन् ।
उपप्रमुख न्यौपानेले भने, ‘मैले पनि पछि थाहा पाए ।’ प्रमुख सेजुवालले नगरपालिकामा आधिकारिक चिठी प्राप्त नभएको र आफूलाई थाहा नभएको बताए । ‘एउटा संस्थाबाट दुई जनालाई भ्रमणको निम्तो आएको थियो’, उनले भने, ‘उनीहरु व्यक्तिगत रुपमा भ्रमणमा जानु भएको हो ।’ (रासस)