‘हिम्मतवाली’का नायक सुदर्शन गौतमविरुद्ध ‘रेडनोटिस’ जारी

काठमाण्डु टुडे २०७६ वैशाख १३ गते १२:५१ मा प्रकाशित

काठमाण्डु, १३ बैशाख – नेपालबाट विभिन्न देश हुँदै अमेरिकामा मानव तस्करी गर्ने कार्यमा संलग्न रहेका ‘हिम्मतवाली’ फिल्मका नायक सुदर्शन गौतमविरुद्ध रेडनोटिस जारी भएको छ ।

झण्डै साढे ८ महिनाको प्रक्रियापछि गौतमविरुद्ध रेडनोटिस जारी भएको हो । आईजीपी सचिवालयका एसएसपी तथा इन्टरपोल शाखा प्रमुख उमेश जोशीका अनुसार रेडनोटिस जारी भएसँगै इन्टरपोलका सदस्य रहेका १ सय ९२ देशका प्रहरीले गौतमको खोजी गर्नेछन् ।

क्यानाडामा बस्दै आएका गौतमले दुई वर्षअघि पनि अमेरिका लैजाने भन्दै ठगी गरेको विषयमा विवादमा तानिएका थिए । गौतमको समूहले तीन नेपाली युवतीलाई फिल्मको सुटिङका नाममा अमेरिका लान विभिन्न देश हुँदै हाइटी पुर्याएको थियो । उनीहरु सवार पानीजहाज बिग्रिएर बहामास भन्ने देशमा पुगेपछि पानीजहाज त्यहाँका सुरक्षा गार्डले नियन्त्रणमा लिएका थिए ।

पानीजहाज नियन्त्रणमा परेसँगै तस्करीको यो घटना बाहिर आएको थियो । अनुसन्धानकै क्रममा सुदर्शन गौतमको समेत संलग्नता देखिएपछि काठमाण्डु जिल्ला अदालतमा मुद्दा दायर गरी उनलाई नेपाल ल्याउन नेपाल प्रहरीले अन्तर्रा्ष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) लाई पत्राचार समेत गरेको थियो ।

गौतमले पीडित युवतीसँग ६० लाख रुपैयाँसम्म लिएको बताइएको छ । दुवै हात नभएका गौतम केही वर्षअघि सगरमाथा चढेपछि चर्चामा आएका थिए । त्यसपछि उनले रेखा थापाले निर्माण गरेको ‘हिम्मतवाली’ नामक फिल्ममा अभिनय गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us