
काठमाण्डु, १३ बैशाख – आज (शुक्रबार) काठमाण्डु उपत्यकासहित देशभरको मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज विशेषगरी देशका पूर्वी र मध्य क्षेत्रमा पानी पर्ने प्रक्षेपण महाशाखाले गरेको छ । अहिले काठमाण्डु उपत्यकाको आकाश कालोमैलो भएको छ । उपत्यकाको अधिकांश क्षेत्रमा अहिले पानी परिरहेको महाशाखाले जनाएको छ ।
महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार पश्चिम पहाडका केही स्थानमा पनि आज वर्षाको सम्भावना छ । तर त्यस्तो ठूलो वर्षा र हावाहुरीको सम्भावना नरहेको उनले बताइन् ।
‘सामान्य वर्षा हुने देखिएको छ,’ मौसमविद् पोखरेलले भनिन्, ‘एकण्दुई घन्टापछि मौसम खुल्ने सम्भावना छ तर फेरि बदली हुने देखिन्छ।’
उनले थपिन्, ‘अहिले प्रि–मनसुन सक्रिय भएकाले कहाँ–कतिबेला मौसम बदली हुन्छ यसै भन्न गाह्रो छ ।’ पूर्वी क्षेत्रमा बनेको न्यून चापीय रेखाका कारण मौसम बदली भएको मौसमविद् पोखरेलेको भनाइ छ ।
मौसम बदली भोलि (शनिबार) सम्म उस्तै रहने उनको अनुमान छ । पर्सि आइतबार पनि पूर्वमा मौसम खराब हुने देखिन्छ । अन्य क्षेत्रमा भने केही सुधार हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।