
काठमाण्डु, १२ बैशाख – चलचित्र ‘प्रेम गीत’ बाट नेपाली फिल्मी जगतमा उदाएकी नायिक पुजा शर्मा यति बेला चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को सुटिङमा व्यस्त छिन् ।
बुधबार निर्माता सन्तोष सेनले चलचित्र ‘प्रेम गीत ३’ को पोष्टर र प्रदर्शन मिति सार्वजनिक गरेका थिए । उनले पोष्टर सार्वजनिक गरेसँगै नायिका पुजाले सामाजिक सञ्जाल इन्स्टाग्राममा चलचित्र ‘प्रेम गीत’ को एउटा तस्वीर सार्वजनिक गर्दै लेखेकी छन् ‘यु आर द वान’ । उक्त तस्विर मार्फत उनी ‘प्रेम गीत ३’ मा अभिनय गर्न इच्छुक रहेको जस्ता अड्कलबाजीहरु चल्न थालेका छन् ।
सुदर्शन थापा निर्देशित चलचित्र ‘प्रेम गीत’ मा पुजा शर्मा र प्रदिप खड्काको मुख्य भूमिका रहेको छ । दर्शकहरुले पुजा र प्रदिपको केमेस्ट्रिलाई निकै रुचाएका थिए । ‘प्रेम गीत’ ले घरेलु बक्स अफिसमा राम्रो व्यापार गरेपछि ‘प्रेम गीत’ को दोस्रो सिरिज ‘प्रेम गीत २’ पनि निर्माण गरिएको थियो ।
केही समयपछि दुबै निर्माता र निर्देशकको टिम र लिड कलाकारहरु छुटिए । ‘प्रेम गीत’ का निर्माता सन्तोष सेनले प्रदिपलाई लिएर ‘प्रेम गीत २’ निर्माण गरे भने सुदर्शनले पुजालाई लिएर ‘म यस्तो गीत गाउँछु’ निर्माण गरे । यी दुवै चलचित्रले मध्यम व्यापार गरेको थियो । ‘प्रेम गीत’ पछि पुजा र प्रदिपले एउटै स्क्रिन शेयर गरेका छैन । उनीहरुको मनमुटाव भएको कुरा पनि बारम्बार मिडियामा छाएको थियो ।
हालै पुजा चलचित्र ‘पोइ पर्यो काले’ मा पनि अनुबन्धित भएकी छन् । पुजाले यो चलचित्रको लागि मंंहगो पारिश्रमिक लिएको बताइएको छ । शर्माले यो चलचित्रको लागि २० लाख पारिश्रमिक लिएकी छन् ।