
काठमाण्डु, १२ वैशाख –प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले देशलाई हृदयको गहिराइदेखि नै माया गर्ने बताएका छन् ।
वसन्तपुरमा आयोजित गोरखा भूकम्पको चौथो स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीलले नेपालीहरुले हृदयको गहिराइदेखि देशलाई माया गर्छन् भन्ने कुरा पुनर्निमाणको कामबाट प्रमाणित भएको बताए ।
पहिले–पहिले नेपालीको विरताको गुणगान मात्रै हुने गरे पनि अब नेपालीको विद्वताको पनि गुणगान हुनुपर्ने उनले बताए । भूकम्पपछिको पुनर्निर्माण कार्यले नेपालीको बौद्धिकताको परिचय अझ फराकिलो भएको बताउँदै प्रधानमन्त्री ओलीले सम्पदा पुनर्निर्माणमा मौलिकतालाई प्राथमिकता दिइएको बताए ।
सम्पदा पुनर्निर्माणमा एउटा सानो टुक्रा पनि खेर नफाली काम भएको बताउँदै प्रधानमन्त्री ओलीले पुनर्निर्माणमा खटिने सबैलाई धन्यवाद दिए ।
त्यस्तै नेपाल सांस्कृतिक सम्पदाका हिसाबले विश्वकै धनी भएको बताउँदै विश्वकै कुनै कुनामा पनि नेपालमा जस्तो सांस्कृतिक सम्पदा नभएको उनले बताए । सम्पदाबाहेक अरु क्षेत्रमा पुनर्निमार्ण कार्य तीव्र गतिले भएको प्रधानमन्त्री ओलीले बताए ।