काठमाण्डु, ११ वैशाख– काठमाण्डु उपत्यकामा बुधबार बिहान दुईपटकसम्म शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ ।
बिहान ६ बजेर २९ मिनेटमा धादिङको नौबिसे केन्द्रबिन्दु भएर ५ दशमलब २ रेक्टर स्केलको भूकम्प गएको हो । त्यसको ११ मिनेटपछि ६ बजेर ४१ मिनेटमा दोश्रोपटक पुनः भूकम्पको धक्का महसुस गरियो । दोश्रो भूकम्प ४ दशमलब ३ रेक्टर स्केलको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । ४ रेक्टर स्केलभन्दा बढीको भूकम्पलाई ठूलो भूकम्प मानिन्छ ।
२०७२ वैशाख १२ मा गएको महाभूकम्पपछि पटकपटक त्यसको पराकम्प आइरहेको छ । यद्यपि बुधबारको भूकम्प नयाँ वा पराकम्प हो भन्ने केन्द्रले केही बताएको छैन । भूकम्पको धक्का धादिङसहित काठमाण्डु उपत्यका तथा आसपासका जिल्लाहरु नुवाकोट, रसुवा, काभ्रे र सिन्धुपाल्चोकसम्म पनि महसुस गरिएको थियो ।