पूर्वमन्त्रीको उपचारका क्रममा निधन

काठमाण्डु टुडे २०७६ वैशाख १० गते २२:०२ मा प्रकाशित

काठमाण्डु, १० वैशाख– पूर्वमन्त्री एवं कांग्रेस नेता रामकृष्ण ताम्राकारको मंगलबार निधन भएको छ ।

क्यान्सर र निमोनियाबाट पीडित ताम्राकारको ललितपुरस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । स्वास्थ्य जटिल भएपछि उनलाई गत चैत अन्तिम साता अस्पताल लगिएको थियो । उनी २०४८ र २०६५ सालमा रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । यस्तै एकपटक स्वास्थ्य र एकपटक उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री भए । यसैबीच मंगलबार बसेको काँग्रेस केन्द्रीय समितिको आकस्मिक बैठकले नेता ताम्राकारको निधनमा दुःख व्यक्त गरेको छ ।

बैठकले वैशाख ११, १२ र १३ गते तीन दिन सानेपास्थित केन्द्रीय कार्यालय तथा जिल्लासहित सबै स्तरका पार्टी कार्यालयमा पार्टी झण्डा आधा झुकाउने निर्णयसमेत गरेको छ । ताम्राकारको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ । त्यसअघि अन्तिम श्रद्धाञ्जलीका लागि ताम्राकारको पार्थिव शरीर बुधबार बिहान १०ः३० देखि दिउँसो १ः०० बजेसम्म पार्टी कार्यालयमा राखिने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us