चलचित्रका प्राविधिक कुटेका विराज भट्टले माफी मागे

काठमाण्डु टुडे २०७६ वैशाख १० गते १७:५३ मा प्रकाशित

काठमाण्डु, १० वैशाख – चलचित्रका प्राविधिक शंकर पाण्डेमाथि कुटपिट गरेका नायक विराज भट्टले माफी मागेका छन् । भट्टले प्राविधिक संघले बोलाएको मंगलबारको बैठकमा आफूले हात हाल्नु गल्ती भएको भन्दै माफी मागेका हुन् ।

विराजको आगामी चलचित्र ‘साङ्लो’को विषय कुरा हुँदा विवाद उत्पन्न भएपछि उनले पाण्डेमाथि मुक्का हानेका थिए ।

संघका अध्यक्ष पुस्कर लामाले दुवै पक्षलाई आजै दिउँसो बोलाएर छलफल गरेका थिए । छलफलका क्रममा भट्टले गल्ती महसुस गर्दै माफी समेत मागेको संघका अध्यक्ष पुस्कर लामाले बताए ।

पाण्डे विराजको आगामी चलचित्रमा पाण्डेले प्रोडक्सन डिनाइनरको जिम्मा लिएका थिए । सम्झौतापत्रअनुसार पुसबाट चलचित्रको छायांकन सुरु गर्ने भन्ने थियो ।  तर, चार महिनासम्म पनि छायांकन सुरु नभएपछि पाण्डेले काम छाड्ने बताए ।

पाण्डेको कुरा सुनेर आवेगमा आएका विराजले टाउको मुक्का हानेका थिए । सोमबार राति नयाँ बानेश्वरस्थित एक क्याफेमा यो घटना घटेको थियो ।

विराजले चलचित्र छाड्दा आफूले भुक्तानी गरेको रकम फिर्ता मागेका थिए । तर, पाण्डेले ४ महिनादेखि आफ्नो समय त्यत्तिकै गएकाले रकम फिर्ता नगर्ने भनेपछि विराज आक्रोशित बनेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us