जिल्ला अध्यक्ष र सचिवको टुङ्गो लागेपछि नारायणकाजीले गरे यस्तो ट्वीट

काठमाण्डु टुडे २०७६ वैशाख १० गते ११:२५ मा प्रकाशित

काठमाण्डु, १० वैशाख – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले जिल्ला कमिटीहरुको एकीकरणको टुङ्गो लागेको बताएका छन् ।

मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा पोष्ट गर्दै जिल्ला कमिटीको एकीकरणको टुंगो लागेको र अब जनवर्गीय संगठनको एकता पनि चाँडै टुङ्गोमा पुर्याउने बताएका छन् ।

प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘हिजो सार्वजनिक निर्णयसङ्गै हाम्रो पार्टीको जिल्ला कमिटीहरूको एकीकरणको टुङ्गो लागेको छ । यो खुशीको कुरा हो । अब छिट्टै पीबीको एकीकरण गरी केन्द्रीय सदस्यहरूको कार्य विभाजन गरिनेछ र जनवर्गीय संगठन सहितको एकीकरण गरिनेछ । आन्तरिक जनवाद र पद्वतिका विषयमा छलफल हुँदै जानेछ ।’

साथै उनले लगत्तै अर्काे ट्वीट गर्दै भनेका छन्, ‘हामी कम्युनिष्टहरू सर्वाेत्तम लाेकतन्त्रका पक्षधर हाैं । यस सन्दर्भमा साेभियतसंघ लगायतका पहिलेका समाजवादी सत्ताहरूमा कमजाेरी भएकाे महशुष गरी ‘जवज’वा ‘२१अाैं शताव्दीमा जनवादकाे विकास’द्वारा त्यसलाई सच्याउने पहल गर्याैं । तर त्याे निष्कर्ष प्रति कति ईमान्दार छाैं गम्भीर समीक्षा गराैं ।’

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।

जसअनुसार तत्कालीन एमालेको भागमा ४४ र तत्कालीन माअ‍ोवादीका भागमा ३३ सिट परेको थियो । पार्टी एकता भएको एक वर्षपछि नेकपाको जिल्ला कमिटी एकताको घोषणा सोमबार भइसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us