
काठमाण्डु, १० वैशाख – हिन्दु राष्ट्र, राजासहितको लोकतन्त्र माग गर्दै आन्दोलनमा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग सरकारले आज वार्ता गर्दैछ ।
वार्ता सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा मंगलबार दिउँसो १ बजे सुरु हुने सरकारले जनाएको छ ।
कमल थापा नेतृत्वको राप्रपाले गत फागुन ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो ।
तर सरकारले कुनै वास्ता नगरेपछि राप्रपा आन्दोलनमा होमिएको थियो । पहिलो चरणको आन्दोलन गरिसकेको राप्रपालाई सरकारले वार्तामा बोलाएको हो ।
सरकारका तर्फबाट कानुन मन्त्री भानुभक्त ढकालले राप्रपासँग वार्ता गर्ने बताइएको छ ।
यस्तै राप्रपाले वार्ताका लागि वरिष्ठ नेता दीपक बोहोराको संयोजकत्वमा महामन्त्री राजेन्द्र लिङ्देन र नेता निरञ्जन थापा सदस्य रहेको टोली सोमबार नै गठन गरिसकेको छ ।