
वीरगन्ज, १० वैशाख – वीरगन्जको बाइपास सडकमा सोमबार राति अज्ञात समुहले दुईवटा बसमा आगजनी गरेको छ ।
बाइपासमा रहेको भिस्वा होटल जाने चोक नजिकै सडक छेउमा रोकेर राखिएका ना ५ ख ३६१४ र ना ५ ख ३६१५ नम्बरका दुई बसमा सोमबार राति साढे ९ बजेतिर अज्ञात समुहले आगजनी गरेका हुन् ।
आगजनीबाट दुवै बस जलेर ध्वस्त भएका छन् । बसमा लगाइएको आगो वीरगन्ज महानगरपालिकाको वारुण यन्त्रको सहयोगमा स्थानीय र प्रहरीले निभाएका थिए ।
दुवै बस, सर्लाहीको मलंगवा निवासी मनमोहन साहको रहेको प्रहरीले जनाएको छ । बसमा आगजनी गर्नेहरुको पहिचान हुन नसकेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्रबहादुर मल्लले बताए ।