
काठमाण्डु ९ वैशाख–कास्कीमा एक नवविवाहिताले विवाहको पाँच दिनमै श्रीमान गुमाएकी छन् ।
जिल्लाको पोखरा–७ मासबार निवासी सिर्जना राउत विवाह गरेको खुसी साट्नै नपाई पति वियोगमा परेकी हुन् । उनको पाँच दिनअघि पोखरा–३३ का सन्दीप कुँवरसँग विवाह भएको थियो । सोमबार म्याग्दे–१ गुणादीमा भएको मोटरसाइकल दुर्घटनामा कुँवरको निधन भयो । मोटरसाइकल पछाडि बसेकी श्रीजना घाइते छिन् ।
उनको खुट्टा भाँचिएको छ । मणिपाल अस्पतालमा उपचार गराइरहेकी सिर्जनाका लागि पति वियोग सपनाजस्तै भएको छ । उनीहरु सवार मोटरसाइकल यात्रु बसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।