‘इन्टु मिन्टु लन्डनमा’का निर्माता र निर्देशकले गरे ‘इन्गेजमेन्ट’

काठमाण्डु टुडे २०७६ वैशाख ९ गते १०:५२ मा प्रकाशित

काठमाण्डु, ९ वैशाख – गत साल रिलिज भएको ‘इन्टु मिन्टु लन्डनमा’का निर्माता प्रज्जवल शम्शेर राणा तथा निर्देशक एवम कोरियोग्राफर रेनेशा बान्तवा राईले आइतबार ‘इन्गेजमेन्ट’ गरेका छन् ।

उनीहरूले लामो समयदेखीको प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन् । दुबैले वैशाख २४ मा बिबाह गर्नेछन् । यी दुबैको प्रेम एक दशकअघि निर्माण भएको ‘मेरो एउटा साथी छ’बाट सुरू भएको बताइन्छ । त्यतिबेला रेनेशा सिनेमाकी कोरियोग्राफर थिइन् ।

प्रज्जवल आइकोर फिल्मस्का मालिक प्रभु शम्सेर जबराका छोरा हुन् । अहिले यो कम्पनी प्रज्जवले चलाउँदै आएका छन् । यो कम्पनीबाट यस वर्ष दुई सिनेमा निर्माण हुँदैछ ।

विवाहपछि पनि सिनेमा निर्देशन र कोरियोग्राफीलाई निरन्तरता दिने रेनशाले बताएकी छिन् । विवाह लगत्तै उनी सिनेमा ’आई एम ट्वान्टिवान’ निर्देशन गर्दै्छिन् । यसलाई प्रज्जवलले निर्माण गर्दैछन् ।

गत वर्ष प्रदर्शनमा आएको फिल्म ’इन्टु मिन्टु लण्डनमा’ बाट रेनशाले निर्देशनमा डेब्यू गरेकी हुन् ।

’आई एम ट्वान्टिवान’ मा ’इन्टु मिन्टु लण्डनमा’ बाट सफल डेब्यू गरेका धिरज मगरको मुख्य भूमिका रहनेछ । योसँगै प्रज्जवलले दशक अगाडिको सुपरहिट सिनेमा ’मेरो एउटा साथी छ’को सिक्वेल पनि निर्माण गर्दैछन् । यसलाई निर्देशक दिनेश राउतले निर्देशन गर्ने तय भइसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us