बबरमहलमा राजपा बैठक बस्दै

काठमाण्डु टुडे २०७६ वैशाख ८ गते ११:५४ मा प्रकाशित

काठमाण्डु, ८ वैशाख – राष्ट्रिय जनता पार्टी राजपा नेपालले महाधिवेशनको विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको छ ।

बबरमहलस्थित पार्टी मूख्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा आगामी महाधिवेशन केन्द्रित भएर छलफल गर्ने राजपाले जनाएको छ । राजपालाई वैकल्पिक शक्तिको रुपमा स्थापित गर्न तयारी नपुगेकाले तोकिएको समयमा महाधिवेशन हुन नसकेको अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए ।

यस्तै, राजपा प्रवेश गरेको राष्ट्रिय जनमुक्ति पार्टीका सहअध्यक्ष सहितको समूहले तयारीका लागि समय माग गरेकाले महाधिवेशन पछि सार्न बाध्य भएको नेता यादवको भनाई छ ।

भोलिसम्म चल्ने पदाधिकारी बैठकले राष्ट्रिय राजनीतिको समग्रतामा विश्लेषण गरी राजपाले खेल्नुपर्ने भूमिकाको विषयमा साझा धारणा तय गर्ने यादवले बताए । राजपाले यसअघि हिजो, आज र भोलिका लागि महाधिवेशनको मिति तय गरेको थियो । २०७४ साल बैशाख ७ गते ६ वटा मधेश केन्द्रित दल मिलेर राजपा गठन भएको थियो ।

गठन भएको एक वर्षमा महाधिवेशन गर्ने भनिएपनि दुई वर्ष बित्दा समेत महाधिवेशन हुन सकेको छैन । महाधिवेशन नहुँदासम्म अध्यक्ष मण्डलका ६ जना सदस्यले चक्रिय प्रणालीमा पार्टीको नेतृत्व सम्हाल्ने सहमति अनुसार अहिले सरदसिंह भण्डारीले नेतृत्व गरिरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us