चुनावकाे मुखैमा राहुल गान्धीलाई झट्का, पार्टी प्रवक्ताद्वारा राजीनामा

काठमाण्डु टुडे २०७६ वैशाख ६ गते १५:२९ मा प्रकाशित

दिल्ली, ६ वैशाख – भारतीय कंग्रेस पार्टीकी प्रवक्ता प्रियंका चतुर्वेदीले पार्टीबाट राजीनामा दिएकी छन् । कंग्रेसकी प्रवक्ता एवं प्रचार विभाग प्रमुख चतुर्वेदीले शुक्रबार पदबाट राजीनामा दिएकी हुन् ।

उनले बिहीबार साँझ पार्टी अध्यक्ष राहुल गान्धीलाई राजीनामा बुझाएको शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत सार्वजनिक गरेकी हुन् । उनले पार्टीकी पूर्वअध्यक्ष सोनिया गन्धीलाई समेत पत्र लेखेकी छन् ।

कांग्रेसमा इमान्दार र रगतपसिना बगाउने कार्यकर्तालाई भन्दा बढी गुण्डागर्दी गर्ने बदमासले ठाउँ पाउन थालेको भन्दै केही समय अघिदेखि गुनासो गर्दै आएकी थिइन् । मथुरामा केही नेता कार्यकर्ताको विषयले आफूमाथि गरेको दुव्यवहार र धम्कीको घटनामा उनीले पार्टीबाट राजीनामा दिएकी हुन् ।

प्रियंकाले शुक्रबार नै शिवसेना पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको शिवसेनाका नेता सञ्जय राउतले जानकारी दिए । उनले उक्त कार्यक्रममा शिवसेना प्रमुख उद्धव ठाकरे विशेष उपस्थिति रहने बताए ।

राजीनामा दिनुभन्दा पहिले नै उनले आफ्नो ट्वीटर ह्यान्डलबाट कांग्रेस प्रवक्ता हटाएकी थिइन् । उनले कांग्रेसको ह्वाटसएप ग्रुप समेत छाडेकी थिइन् । पार्टीमाथि उनको असन्तुष्टि र उनले गरेका क्रियाकलापले उनले कांग्रेस छाड्न सक्ने अनुमान समेत गरिएको थियो ।

उनले लामो समय रगत पसिना बगाएको पार्टी छाड्नुपर्दा दुःख लागेको समेत प्रतिक्रिया दिएकी छन् । उनले पार्टीभित्रै बाट आफूलाई धम्की आएको र धम्की दिनेहरुलाई कारबाहीको सट्टा बढुवा गरेका कारण पार्टी छाड्नु परेको बताएकी छन् ।

भारतमा दोस्रो चरणको निर्वाचन बिहीबार सम्मन्न भएको छ । चुनाव जारी रहेकै समयमा प्रवक्ता चतुर्वेदीले दिएको राजीनामाले कांग्रेस र यसका अध्यक्ष राहुल गान्धीलाई ठूलो धक्का पुग्ने राजनीतिक विश्लेषकहरुले प्रतिक्रिया दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us