प्रदेश ३ को लगानी सम्मेलन चितवनमा

काठमाण्डु टुडे २०७६ वैशाख ६ गते १२:४४ मा प्रकाशित

काठमाण्डु, ६ वैशाख – प्रदेश ३ मा लगानी भित्र्याउनका लागि शुक्रबार र शनिबार लगानीकर्तासँग बृहत् अन्तक्रिया कार्यक्रम गरिने भएको छ ।

प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगले लगानी सम्मेलनकै ढाँचामा बृहत् कार्यक्रम गर्न लागेको हो । आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले अन्तक्रिया कार्यक्रममा निजी क्षेत्रलाई गुणस्तरीय पूर्वाधार, उद्योग, विशिष्टीकृत सेवा, विशिष्टीकृत कृषि र सम्पदामैत्री पर्यटन गरी पाँच वटा क्षेत्रमा लगानी केन्द्रीकृत गर्न उत्प्रेरित गरिने बताए ।

तीन नं प्रदेशमा संघीय राजधानी रहेको भन्दै उनले देशको २१ प्रतिशत जनता यही क्षेत्रमा बसोबास गर्ने जानकारी दिए । अत्यधिक माग रहेको र साधन स्रोतको हिसाबले पनि सम्पन्न यस प्रदेशमा लगानीका धेरै अवसर रहेको उनले बताए ।

कार्यक्रममा लगानीका क्षेत्रहरुलाई प्रस्ट्याइने बताउँदै उनले १३ जिल्लाका उद्योगी–व्यवसायी, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष, राष्ट्रिय पूँजीपति तथा उद्योगपति छलफलमा सहभागी हुने जानकारी दिए ।

प्रदेश नं. ३ का विभागीय मन्त्रीहरुले आ–आफ्नो क्षेत्रको छलफलमा अध्यक्षता ग्रहण गरी गहिराइमा विज्ञहरुसहित छलफल गरिने पनि सो अवसरमा जानकारी दिइयो । कार्यक्रममा पहिलो दिन दुई वटा कार्यपत्र र दोस्रो दिन विशेष क्षेत्रका विज्ञबाट पाँच वटा कार्यपत्र प्रस्तुत हुनेछन् ।

मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जगन्नाथ थपलियाले यो कार्यक्रमले निजी क्षेत्रलाई लगानी गर्न प्रोत्साहित गर्ने बताए । लगानीकर्ताको सुरक्षा र सहजीकरण प्रदेश सरकारले गर्ने बताउँदै उनले ढुक्क भएर लगानी गर्न सक्ने वातावरण सिर्जना गरिने बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us